सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक ः मन्त्री थापा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १०, २०७८
IMG_9190

पोखरा,१० भदौ । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार पोखरा ९ नयाँबजार स्थित नव प्रभात माविको सिसी क्यामेरा तथा बाल उद्यान समुदघाटन कार्यक्रममा बोल्दै मन्त्री थापाले सबैका लागि सरकारी स्कुल भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले नयाँ खालको शिक्षा नीति ल्याउन लागेको जानकारी गराउँदै मन्त्री थापाले अबको शैक्षिक स्तर व्यवसायिकमुखी हुनुपर्ने तर्फ जोड गर्नुभयो । उहाँले भन्नुभयो, “समाजले कस्तो खालको उत्पादन खोजेको छ, त्यस्तै प्रवृतिको शैक्षिक पद्धती हुन जरुरी छ । बजारको माग अनुसारको शिक्षा दिनुपर्ने आजको आवश्यकता हो । समयसापेक्ष शिक्षा नीतिमा गण्डकी सरकार समेत लागिरहेको छ ।”

बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भइसकेको र उक्त विधेयक मार्फत बालबालिकाको हकमा धेरै कुराको सुनिश्चित हुने जानकारी उहाँले गराउनुभयो ।

नव प्रभात माविको भौतिक र शैक्षिक गुणस्तरताको विषयमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता मन्त्री थापाको छ । उहाँले विद्यालयमा आधुनिक सुविधा सम्पन्न पुस्तकालय व्यवस्था गर्न प्रदेश सरकारबाट सक्दो सहयोग हुने बताउनुभयो ।

पुस्तकालयको मोडालिटी तयार गरेर प्रदेश सरकारलाई बुझाउन मन्त्री थापाले आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा पनि प्राइभेट स्कुलमा भन्दा राम्रो शिक्षदिक्षा हुन्छ भन्ने भावनाको विकास गर्न सके विद्यार्थी संख्या बढ्दै जाने विश्वास मन्त्री थापाको छ । उहाँले गण्डकी सरकार पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुदृढ बनाउन लागिरहेको जानकारी गराउनुभयो ।

शिक्षक, अभिभावक र सरकार मिलेर सामुदायिक विद्यालयमा देखिएका समस्यालाई निर्मुल पार्नुपर्ने आवश्यकता रहेको मन्त्री थापाको भनाई छ । नैतिक शिक्षामा मन्त्री थापाले जोड दिनुभएको छ ।

प्रविधिको विकास सँगै यसको सदुपयोग सही ढंगले नहुँदा बालबालिकाले पढाईप्रति ध्यान नदिने जस्तो प्रवृति मौलाएको र यस्तो समस्याको समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives