कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो

राष्ट्र न्यूज सम्वाददाता
माघ २९, २०८०
Swin

पोखरा, २९ माघ । कास्कीमा सुंगुर, बंगुर तथा बंदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढेको छ ।

पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय पोखराले पोखरामा सोमबार मिडिया बिफ्रिङग कार्यक्रम गरी रोगको पछिल्लो अवस्था बारे जानकारी दिएको हो ।

यस रोगका कारण गण्डकी प्रदेशमा १६ हजार पाँच सय ५४ वटा बंगुर मरेका छन् । मरेका मध्य कास्कीमा मात्र १५ हजार तीन सय ८८ बंगुर मरेको तथ्यांकले देखाएको छ । जुन गण्डकी प्रदेशभित्रको कुल तथ्यांकको ९२ दशमलब ९ प्रतिशत हुन आउँछ ।

पछिल्लो पटक कास्कीमा ५५, तनहुँमा ३० वटा, लमजुङ्गमा १४ वटा र गोरखामा १३ वटा बंगुर मरेका छन् ।नेपालमा २०७९ जेष्ठ २ गते पहिलो पटक यो रोग पुष्टि भएपनि गण्डकी प्रदेशमा २०७९ साल साउन २९ गते पुष्टि भएको थियो ।

रोग पुष्टि भएका क्षेत्रमा स्थलगत अध्ययन, सर्भिलेन्सका कार्य , फार्म निसंक्रमण र संचारमाध्यम मार्फत् जनचेतनामूलक सूचना प्रशारण गर्ने लगायतका कार्यलाई तिव्र पारिएको निर्देशनालयका महानिर्देशक डा. प्रेरणा सेढाई भट्टराईले जानकारी दिनुभयो ।
‘यो रोगको कुनै उपचार उपलब्ध छैन, महानिर्देशक डा. भट्टराईले भन्नुभयो, प्रभावकारी जैविक सुरक्षा आवश्यक छ ।’

रोगको संक्रमण हुँदा पशुमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्रि फरेनहाइट) आउँने, शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता लक्षण देखिन्छन् ।

कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव डा.टंक प्रसाद प्रसाईले रोग सर्न नदिने उपाय अपाउनुपर्नेमा जोड दिनुभयो ।

अन्य व्यक्तिलाई खोरमा पस्न नदिने, बाहिर गएर खोरमा पस्दा कपडा फेर्ने, खोरमा फोहोर व्यवस्थापन गर्ने, होटल, भोजभतेर तथा घरबाट ल्याइएको जुठो खाना सकेसम्म नदिने र खुवाउनुपर्ने भएमा ३० मिनेट पकाएर दिने, जंगली बंगुर÷बंदेल र घरपालुवा बंगुरलाई सिधा सम्पर्कमा आउने नदिनु नै रोकथामको उपाय हो । निर्देशनालयले बंगुरपालक कृषकलाई यस रोगबारे सचेत रहन अनुरोध गरेको छ ।

कार्यक्रममा निर्देशनालय निर्देशक डा. बालकुमार श्रेष्ठ, पशु चिकित्सक शंम्भु पाण्डे, प्राविधिक सुरेश कुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives