विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार पोखराका संरक्षणकर्मी आचार्यलाई

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २०, २०८१
raju 2

पोखरा २० बैशाख । पोखराका राजु आचार्य हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

बेलायती राजकुमारी एनले लन्डनमा बुधबार आयोजित एक कार्यक्रमका बिच पुरस्कारबाट संरक्षणकर्मी आचार्यलाई सम्मान गर्नुभएको हो । पुरस्कारको राशी ५० हजार पाउण्ड छ ।

विश्वभरका ६ जनालाई प्रदान गरिएको सो पुरस्कार आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप प्रदान गरिएको हो ।

३० बर्षमा ८० भन्दा बढी मुलुकका दुई सय जना संरक्षणकर्मीहरुले सो पुरस्कार प्राप्त गरेका छन्। यो बर्ष आचार्य सहित ब्राजिल, भुटान, पपुवा न्यु गिनिया, क्यामरुन र गुयानाका संरक्षणकर्मीहरु पनि सो पुरस्कार प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरोको संरक्षणको काममा पुरस्कार रकम खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाल सरकारले बनाएको १० वर्षे लाटोकोसेरो संरक्षण कार्य योजनाले तोकेको कार्यहरूमा सो रकम खर्च हुने उहाँले बताउनुभयो । सो कार्यक्रम अन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुडको वितरण तथा लाटोकोसेरोकोअबैध चोरी सिकारी नियन्त्रण आदि रहेको छ । यो कामहरु गर्नको लागि उहाँको समूहमा सोम जिसी र सुमन सापकोटा समेत रहनुभएको छ ।

पुरस्कार पाएपछि जिवनकै खुशीको दिन रहेको उहाँले सुनाउनुभयो । ‘ यो पुरस्कार पाउनु मेरो जीवनको सबै भन्दा खुशीको दिन हो । पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन्’ उहाँले भन्नुभयो, ‘बिना स्वार्थ लाटोकोसेरो संरक्षण अभियानमा जोडिएका सबैलाई मुरी मुरी धन्यवाद ।’

हाल प्रकृतिका साथीहरु संस्थाको कार्यकारी निर्देशक समेत रहनुभएका आचार्यले बिगत ३५ वर्ष देखि वन्यजन्तुको अध्ययन र संरक्षणमा विशेष योगदान गर्नुभएको छ ।

१६ वर्ष देखि उहाँ लाटोकोसेरोको काममा बढी सक्रिय हुनुहुन्छ । उहाँले लाटोकोसेरो प्रतिको माया र लगावको कारणले नेपालमा ‘उल्लु सर’ को उपनाममा चिनिनुहुन्छ ।

गएको १६ वर्षमा उहाँ प्रत्यक्ष रूपमा ६० हजार भन्दा मानिसहरू सम्म पुगेर लाटोकोसेरोको महत्वको बारेमा जानकारी गराउनुभएको छ । उहाँका लाटोकोसेरोका सम्बन्धी ५ वटा पुस्तकहरू प्रकाशित छन् ।

नेपालबाट विधुतीय रुपमा प्रकाशित हुने लाटोकोसेरो सम्बन्धि पत्रिका हाप्सिलोका सम्पादक समेत हुनुहुन्छ । यसका साथै उहाँका १ सय २५ भन्दा बढी प्रकृतिसम्बन्धि फिचर लेखहरु प्रकाशित छन् ।

नेपालका ६८ जिल्ला घुम्नुभएका उहाँले हजारौँ बिधार्थीहरुलाई लाटोकोसेरोको संरक्षण गर्न प्रेरित गर्नुभएको छ । नेपालको सबै भन्दा ठुलो संरक्षणको अभियान नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव पनि उहाँकै नेतृत्वमा ११ वर्ष देखि सञ्चालन हुँदै आएको छ ।

लाटोकोसेरो बाहेक उहाँले ब्वाँसो, जंगली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना मांसाहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदिमा समेत काम गर्नुभएको छ ।

नवीन काम गर्न रुची राख्ने आचार्यले अन्य अनुसन्धानकर्मी नपुगेको क्षेत्र तथा प्रजातिको अनुसन्धान र संरक्षणको लागि नेतृत्व गरि रहनुभएको छ । पश्चिममा हुम्लादेखि पूर्वमा सङ्खुवासभा सम्मका क्षेत्रमा उहाँले काम गर्नुभएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives