सामाजिक विकास कार्यालय कास्कीद्वारा ९० प्रतिशत लक्ष्य पूरा

राष्ट्र न्यूज सम्वाददाता
श्रावण ४, २०७९
1

पोखरा, ४ साउन । सामाजिक विकास कार्यालय कास्कीले बुधबार वार्षिक समीक्षा गरेको छ ।

कार्यक्रममा शिक्षा कार्यालयका प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षक संघ÷संगठनका प्रमुख , नागरिक समाज, गैर सरकारी संस्था र संचारकर्मीको सहभागिता रहेको थियो । सहभागीहरुले कार्यालयका कार्यक्रम राम्रो र प्रभावकारी भएको उल्लेख गरेका थिए ।
त्यस अवसरमा कार्यालयद्वारा संचालित कार्यक्रमको उपलब्धि, प्रगती र चुनौतिका बारेमा छलफल गरिएको थियो । कार्यालयले आर्थिक वर्ष ०७८÷०७९ मा ९० दशमलब ५४ प्रतिशत लक्ष्य पूरा गर्न सकेको लेखा अधिकृत गोविन्द प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कार्यालयले महिला, अपाङ्गता, ज्येष्ठ नागरिकसहित शैक्षिक, धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक महत्वका स्थानको पहिचान गरी संरक्षण र सामुदायिक भवन निर्माणका क्षेत्रमा काम गर्ने गर्दछ ।

कार्यालयले लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनस्र्थापना र थेरापी, महिला सहकारीको क्षमता अभिवृद्वि, कास्कीका चार वटै पालिकामा बालमैत्री स्थानीय शासन सहयोग कार्यक्रम गरेको थियो ।

त्यस्तै, बौद्विक अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई स्याहार सम्बन्धी तालिम, विभिन्न प्राकृतिक सम्पदाको संरक्षणसँग आवश्यक भौतिक पूर्वाधार निर्माण र क्रियापुत्री भवन निर्माण गर्ने लगायतका कार्यक्रमहरु संचालन गरेको थियो ।

गण्डकी प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालयले २०७८ साल असोज ५ गते सामाजिक विकास कार्यालय कास्की स्थापना गरेको हो ।

कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका प्रसाद आचार्यले छोटो समयमा कार्यालयले सफलता हासिल गरेको बताउनुभयो ।

कार्यालय प्रमुख इन्द्र बहादुर थापाले शिक्षा विकास निर्देशनालयबाट कार्यालयका कार्यक्रम अनुगमनको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । विभिन्न चुनौती र समस्या रहेपनि गुणस्तरीय सेवालाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives