सभापति देउवासँग दुई महामन्त्रीको भेट : भ्रातृ संस्थाको निर्वाचनबारे छलफल

रासस
असार ६, २०७९
congress

काठमाडौँ, ६ असार (रासस) :नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी) मा आबद्धताबारे छलफल भएको थियो ।

भेटमा महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

“एसपिपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पु¥याएर सहभागी नहुन आग्रह ग¥यौँ, विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्षीलगायत सबै राजनीतिक दललाई बोलाएर साझा धारणा तय गरौँ भन्ने कुरा प्रधानमन्त्रीज्यू समक्ष राख्यौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो ।

“छ महिनाभित्र सम्पन्न गर्ने भनिएको भ्रातृ संस्थाको अधिवेशनको बारेमा पनि हामीले सभापतिज्यूको ध्यानाकर्षण गरायौँ”, महामन्त्री शर्माले भन्नुभयो ।

यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री शर्माले बताउनुभयो ।

उहाँहरुले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives