काठमाडौँ, २० वैशाख (रासस)ःअरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै ठूलाबडाबाट आशीर्वाद लिएर इदुल फित्र पर्व मनाएका छन् ।
दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशीर्वाद लिइन्छ । यसपर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।
घरभन्दा टाढा–टाढा भई फर्कन नभ्याउनेले पनि मान्यजनबाट आशिर्वाद लिन्छन् । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुल फित्र भनिएको हो ।
अरबी पात्रो अनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यसवर्ष उक्त दिन आइतबार बेलुकी चन्द्रमा नदेखिएकाले आज यो पर्व मनाइएको हो ।
अरबी पात्रो अनुसार कुनै पनि महिना ३१ दिनको नहुँने भएकाले सोमबार बेलुकी अर्थात् ३०औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ ।
यसैकारण आज इद उल फित्र पर्व मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिनुभयो । यो पर्वको अर्को उल्लेखनीय पक्ष दीनदुःखी र गरिबलाई दान दिनु हो ।
यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलिले बताउनुभयो ।
यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवं गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इदउल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् ।
जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको नाममा पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा उल्लेख छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।
यसवर्ष (गत चैत २० गतेदेखि) मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) सुरु गरिएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उहाँले बताउनुभयो ।
एक महिनासम्म दिनभर व्रत बसेर साँझ सूर्यास्तपछि नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महीनामा भोजन गर्नेे परम्परा छ ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने
हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम
राष्ट्रिय माविको हीरक महोत्सव
गण्डकी प्रज्ञा–प्रतिष्ठानले सात जना श्रष्टालाई सम्मान अर्पण गर्दै
Archives
Archives