कास्कीका निर्माण व्यवसायी आन्दोलनमा,कन्स्ट्रक्सन होलिडे घोषणा

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १४, २०७९
Dharna Pgm pic

पोखरा, १४ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघको आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार कास्की जिल्लाका निर्माण व्यवसायीहरुले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएका छन् ।

महासंघका केन्द्रीय सदस्य शुरेस श्रेष्ठको नेतृत्वमा निर्माण व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयको गेट अगाडि एक घण्टा धर्ना दिएका हुन् ।
विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको महासंघले दवावमूलक कार्यक्रम गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको गेटसँगै उनीहरुले प्रदेश प्रमुखको कार्यालय अगाडि समेत बिहान ११ देखी १२ बजेसम्म धर्ना दिएका छन् ।

धर्नामा सहभागीहरूले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानून जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

धर्नालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय सदस्य सुरेश श्रेष्ठले व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइए पनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको बताउनुभयो ।

महासंघका गण्डकी प्रदेश अध्यक्ष टंकराज बरालले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यबृद्धिको सम्वोधन नभई सामान्य अवस्थामा नआइन्जेल कन्स्ट्रक्सन होलिडे मानिने उल्लेख गर्नुभयो ।

महासंघका कास्की जिल्ला अध्यक्ष लिलकाजी गुरुङ्गले निर्माण सामाग्रीको मूल्यवृद्धिले व्यवसायीहरु घरको न घाटको हुने अवस्थामा पुगेको बताउनुभयो ।

निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतवार) लागु हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने कास्कीका सहकोषाध्यक्ष ध्रुववावु भट्टराईले बताउनुभयो । कन्स्ट्रक्शन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने भट्टराईले स्पष्ट पार्नुभयो ।

अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर रहेको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives