गण्डकी प्रदेशका सम्पदा सूचीकृत गर्न आग्रह

रासस
वैशाख ७, २०७९
Gandaki-province

जमुना वर्षा शर्मा

पोखरा, ७ वैशाख (रासस) ः गण्डकी प्रदेशका प्राकृतिक सम्पदाहरुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले आग्रह गरेको छ ।

विश्व सम्पदा दिवसको अवसरमा नाट्टा गण्डकीले प्रदेशमा रहेका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक पुरातात्विक महत्व बोकेका स्थल पहिचान र संरक्षणका लागि सरोकारवालाबीच छलफल गर्दै युनेस्कोको लिष्टमा भएका सम्पदालाई सूचीकृत गर्दै थप सम्पदाको खोजीका लागि आग्रह गरेको हो ।

कार्यक्रममा पुरातत्व विभाग सम्पदा संरक्षण शाखाका प्रमुख रमेशराज पौडेलले गण्डकी प्रदेशमा कैयौँ प्राकृतिक सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा रहेकाले ती सबैको पहिचान र संरक्षणको आवश्यकता औँल्याउनुभयो ।

उहाँले सम्पदा कुनै पनि देशको विशेष सम्पत्ति भएकाले यसको संरक्षण र सम्वद्र्धनमा सरकारसँगै नागरिकको पनि उत्तिकै चासो र अग्रसरता आवश्यक हुनेमा जोड दिनुभयो ।

उहाँका अनुसार हालसम्म विश्वसम्पदा सूचीमा आठ वटा सांस्कृतिक र दुई वटा प्राकृतिक गरी १० वटा सम्पदा सूचीकृत छन् । त्यसैगरी युनेस्कोले नेपालमा १५ वटा सांस्कृतिक सम्पदालाई ‘टेन्टेटिभ लिष्ट’मा राखेको छ ।

त्यसमा गण्डकी प्रदेशअन्तर्गत मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखास्थित मध्यकालीन दरबार क्षेत्र र लोमान्थाङ वालसिटी रहेका छन् ।

यसका अतिरिक्त गण्डकी प्रदेशका लमजुङ, तनहुँ, पर्वत, बागलुङलगायतका जिल्लामा ऐतिहासिक धार्मिक, सांस्कृतिक महत्वका स्थल रहेका र ती क्षेत्र उत्खनन र संरक्षणको प्रयास भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्पदाका रुपमा अभिलेख गर्न पुराना संरचना नमासिएको र उस्तै स्वरुप झल्कने हुनुपर्दछ तर सम्पदाको महत्व बुझ्न नसक्दा मासिने, अतिक्रमण हुने, स्वरुप परिवर्तन हुने क्रम बढ्दै जाँदा सम्पदाको अस्तित्व हराउन पुगेको छ ।”

प्राध्यापक डा नारायणप्रसाद अधिकारीले कालीगण्डकी नदीको सभ्यताको महत्व दर्शाउँदै सम्पदाको रुपमा सूचीकृत गर्नुपर्नेमा जोड दिनुभयो । कालीगण्डकी सभ्यता आस्था र भावनाको धरोहरसँगै यहाँ पाइने शालिग्राम, जीवाशेषका प्रमाणले पनि जीवको सृष्टि यहीँबाट भएको हो भन्ने पुष्टि हुने भएकाले यो सम्पदाको सूचीकृत गर्नुपर्ने उहाँको भनाइ थियो ।

शालिग्राम दिन प्रतिदिन चोरी निकासी हुँदै गएको जनाउँदै समयमै यसको अध्ययन अनुसन्धानसहित सूचीकृततर्फ ध्यान दिन उहाँको आग्रह गर्नुभयो । त्यसैगरी दामोदर कुण्ड भौगोलिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक हिसाबले महत्व पाएको स्थान भएकाले पनि विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले विश्वका पर्यटक ऐतिहासिक, सांस्कृतिक प्राकृतिक सम्पदाको अवलोकनका लागि नेपाल आउने भएकाले आ–आफ्नो क्षेत्रमा रहेका सम्पदाको खोजी र संरक्षणमा महत्वपूर्ण हुने बताउनुभयो ।

नाट्टा गण्डकीले आफ्नो प्रदेशको सम्पदाको खोजी र सूचीकृतका लागी देखाएको चासो प्रसंशनीय रहेको जनाउँदै सम्पदा संरक्षणमा परिषद्ले पनि हातेमालो गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

नाट्टा गण्डकीका निवर्तमान अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रदेशका सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक धार्मिक, भौगोलिक महत्व राख्ने सम्पदाको खोजी गरेर गण्डकी प्रदेशलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

फेवाताल अतिक्रमण बढ्दै गएको तर्फ सङ्केत गर्दै उहाँले आउने पुस्ताले फेवाताललाई कुन स्वरुपमा देख्ने हुन् भन्ने विषयमा अहिले नै चिन्तन आवश्यक छ भन्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives