जीप दुर्घटनामा स्याङ्जाको एकै गाउँका पाँचको मृत्यु

रासस
वैशाख ४, २०७९
accident-600×0-11072017101555-1000×0-19112017013237-600×0

वालिङ, ४ वैशाख (रासस) :स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो ।

मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives