नयाँ भाडादर कार्यान्वयनको अवस्था बुझ्न मन्त्री खड्का निरीक्षणमा

राष्ट्र न्यूज सम्वाददाता
फागुन २, २०७८
273535199_319938560183735_1757707348959357053_n

पोखरा, २ फागुन । गण्डकी प्रदेश सरकारले १ गतेदेखि लागु गरेको नयाँ भाडादर कार्यान्वयनको अवस्था बारे भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी लिनुभएको छ ।

भाडादर लागु भएको पहिलो दिन नैे स्वयं मन्त्री खड्का नै निरीक्षणमा निस्केर त्यसबारे जानकारी लिनुभएको छ । मन्त्रालयका महाशाखा प्रमुख टिकाराम पौडेल र निजी सचिव केदार सापकोटासहित उहाँ निरीक्षणमा निस्कनु भएको थियो ।

निरीक्षणका क्रममा मन्त्री सहितको टोलीले ग १ज १९३० नं. को ट्याक्सी चढेर बिल रकम भुक्तान गरेको थियो । नयाँ भाडा रकम साविकमा लिने गरेको भन्दा रु. ७० ले कम भएको थियो ।

यसअघि पोखराको रत्नचोकदेखि एयरपोर्टसम्म २०० लिने गरेकोमा मिटर समायोजन पछि रु १३० मात्रको बिल प्राप्त भएको निजी सचिव केदार सापकोटाले जानकारी दिनुभयो । टोलीले भाडा निर्धारण पूर्व अध्ययनमा प्रयोग गरिएका रुट (स्थान) मा भाडा समायोजन भए÷नभएको बारे जानकारी लिएको थियो ।

‘समायोजन कार्यान्वयन भए÷ नभए बारे मन्त्रालयले नियमित अनुगमन गर्ने छ, मन्त्री खड्काले भन्नुभयो, कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने छौं।’ उहाँले कार्यान्वयन नगर्ने ट्याक्सीको दर्ता समेत खारेज गरिने बताउनुभयो । ट्याक्सीमा मिटर जडानको लागि केही समय लाग्ने भएकाले मन्त्रालयले फागुन मसान्तसम्म पूर्ण रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

मन्त्री खड्काले मिटर जडान गर्न इजाजत प्राप्त संस्था र त्यसको कार्य बारे पनि जानकारी लिनुभएको छ ।

जिप, ट्याक्सी, नगर बस, ठूला बस र ट्रकको भाडा निर्धारण गरिएको हो । नयाँ भाडादर अनुसार, लामो दुरीमा चल्ने बसहरुको भाडा प्रतिकिलोमिटर प्रतियात्रु ३ रुपैयाँ १० पैसा कायम भएको छ ।

छोटो दुरीमा चल्ने सिटी बसमा लागडाउन २० रुपैयाँ (सुरुको ३ किलोमिटरसम्म ) र ३ किलोमिटर भन्दा माथि थप २ रुपैयाँ ५० पैसा बढ्दै जाने छ ।

डिलक्सको सुविधा दिने गरी ब्लुबुकमा यातायात व्यवस्था विभागबाट प्रमाणित भएका सवारीको हकमा तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सक्ने व्यवस्था छ ।

जिपको हकमा प्रति किलोमिटर ५ रुपैयाँ ५० पैसासम्म लिन पाउने व्यवस्था छ । ट्रकको हकमा प्रतिकिलोमिटर ११ रुपैयाँ ७२ पैसा भाडादर कायम भएको हो ।

ट्याक्सीमा चढ्नेबित्तिकै (लागडाउन रेट ८० रुपैयाँ ) र यसपछि प्रति २ सय मिटरको १० रुपैयाँका दरले भाडा बढ्दै जाने छ । १५ किलो मिटरभन्दा माथि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५० पैसा लाग्ने गरी निर्धारण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives