छठ पर्व ः नदीका किनारमा विशेष साजसज्जा

रासस
कार्तिक २३, २०७८
NP_KTM_20211109_IMG_1313

छठ पर्वका अवसरमा काठमाडौँको गौरीघाटमा पूजाका लागि छठघाट निर्माण गरिँदै । विशेष गरी तराईमा मनाइने यो पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामा समेत मनाउन थालिएकाले यहाँस्थित पोखरी तथा खोला किनारमा सरसफाइ गरी छठ पूजाका लागि व्यवस्थापन गरिँदै छ । तस्बिर ः नवीन पौडेल÷रासस

विराटनगर, २३ कात्तिक (रासस) । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने छठ पर्वको लागि बजारमा किनमेल गर्नेको भीड लागेको छ ।

छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।

यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, पानी सिङ्गडा, मूला, अदुवाको बोट पर्छन् ।

पूजाका लागि व्रतालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् ।

घाटलाई आकर्षक एवं सजावट गर्न व्रतालुले लागि परेका छन् । विराटनगरको सिङ्घीया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।

विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगारिएको छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाई पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले बुधबार सार्वजनिक बिदा पनि दिएको छ । यो पर्वको रौनक एवं चमक हेर्न बुधबार साँझ र बिहीबार बिहान हजारौँको भीड लाग्ने गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives