चालक अनुमतिपत्र कार्ड ल्याइँदै

रासस
कार्तिक १५, २०७८
lisence

प्राविधिक समस्याका कारण लामो समयदेखि कार्ड ल्याउन नसकिएको भए पनि अहिले समाधान भएकाले ल्याउन लागिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो ।

सरकारले दुई वर्ष पहिले खरिद गरेको ‘मास प्रिन्टर’ मा छपाइ गर्न कार्ड नमिलेपछि कार्ड आउन सकेको थिएन । पछिल्लो पटक परीक्षणमा समस्या नभएको पाइएकाले ल्याउन लागिएको हो । उहाँले भन्नुभयो, “हामीले कार्ड छिटो ल्याउनका लागि कम्पनीसँग सम्पर्क भइरहेको छ ।”

‘मास प्रिन्टर’ एउटा कम्पनीबाट खरिद गरिएको र कार्ड अर्काे कम्पनीबाट खरिद गरिएकाले समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ ।

अहिले कार्ड मास प्रिन्टरमा मिलेकाले ल्याउन भनिएको हो । चालक अनुमतिपत्रको पहिलो सम्झौताअनुसार १४ लाख आउनुपर्ने विभागले जनाएको छ ।

विभागले चाँडो ल्याउन सहजीकरण गरिदिने भएको छ । अहिले १४ लाख कार्ड आएपछि तत्कालका लागि समस्या हट्ने र आगामी दिनमा पनि त्यही समस्या दोहोरिन नदिन ध्यान दिइने विभागले जनाएको छ ।

सेवाग्राहीलाई सजिलोका लागि सुरू गरिएको ‘स्मार्ट’ चालक अनुमतिपत्र सोचेजस्तो हुन सकिरहेको छैन । विभिन्न समस्याका कारण सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका छैनन् ।

पहिले उपकरणको क्षमता कम भएकाले सेवाग्राहीले समयमा अनुमतिपत्र पाउन सकिरहेका थिएनन् । दुई वर्ष पहिले विभागले एउटै ठेक्काबाट ठूलो क्षमताको उपकरण (मास प्रिन्टर) र १० लाख कार्ड ल्याइएको थियो ।

त्यो कार्ड अब थोरै सङ्ख्यामा मात्रै बाँकी छन् । कार्ड अभावमा विभागले अति आवश्यक पर्नेलाई मात्रै अनुमतिपत्र छापिरहेको छ । यातायात कार्यालयले भने एक वर्षका लागि अस्थायी चालक अनुमतिपत्र सुरू गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives