पोखरा, ११ जेठ । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् ।
नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान गरिएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्की सचिव बखानसिंह गुरुङ, नेकपा(एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जसपा कास्कीका अध्यक्ष गिरिप्रसाद गुरुङ र राजमो कास्कीका कोषाध्यक्ष विष्णु पूरीले मङ्गलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी त्यस्तो आव्हान गर्नुभएको हो ।
विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना गरेको ठहर गरिएको छ ।
प्रतिनिधि सभालाई रातारात विघटन गरी राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र र प्रतिगमनकारी कार्य गरेको भन्दै निन्दा र भन्र्सना गरिएको छ ।
विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक दायित्व निर्वाह नभएको र उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मिलेमतोमा वद्नियतपूर्ण प्रतिनिधि सभा विघटन गरी नेपालको संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिएको उल्लेख छ ।
प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुविकरण र जटिलतातर्फ धकेलिएको भन्दै निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवनलाई झन् गम्भीर संकटमा धकेलिदिएको जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
सोंथर बेँसी टारी बजार मेलाको आयब्यय सार्वजनिक
शताब्दी पुरुषलाई सम्मान
हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै
क्रिष्टल मन्टेश्वरीद्वारा वृक्षारोपण
वातावरण दिवसमा दृश्य अवलोकन पार्कमा वृक्षारोपण