कास्की काँग्रेसको अधिवेशनका लागि मतदानस्थल र उम्मेद्वार मनोनयन दर्ता मिति तोकियो

रासस
कार्तिक २९, २०७८
congress

पोखरा, २९ कात्तिक । नेपाली काँग्रेसको १४ औं महाविधेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ ।

अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रुपमा खटिनु भएका रामचन्द्र पौडेल(आरसी पौडेल)ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरुसँग बैठक गरी मतदानस्थल तोकिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको बैंठकले जिल्ला, क्षेत्र र प्रेदश सभा अधिवेशनको अघिल्लो दिन उम्मेद्वार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।

प्रवक्ता सिग्देलका अनुरसार, मंशिर ३ गते हुने प्रदेश सभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेद्वार मनोनयन दर्ता गर्नुपर्ने छ ।

बैठकले मंशिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनको मतदानका लागि तालचोकस्थित सुभम पार्टी प्यालेस, मंशिर ३ गते हुने १(क) को मतदानका लागि सोही सुभम पार्टी प्यालेस र १(ख)को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २(क)को पोखरा विरौटा र २(ख)को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।

उता क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३(क)को लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)को लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ । मंशिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives