पोखरामा राधाकृष्ण मन्दिरका लागि भूमिदान अभियान शुरु

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १४, २०७८
Shree krishana janmastami

पोखरा, १४ भदौ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा पोखरामा राधाकृष्ण मन्दिरका लागि भूमिदान अभियान शुरु भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ(इस्कोन नेपाल) पोखरा शाखाले मन्दिर निर्माण गर्न लागेको हो ।

आन्तरिक तथा वाह्य धार्मिक पर्यटन प्रवद्र्वन गर्ने उद्देश्यले मन्दिर निर्माणको योजना बनाइएको प्रमुख अम्बुजा कृष्णदासले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि अहिले जग्गाको खोजी भैरहेको छ । पोखरामा महानगरपालिका भित्र भक्तजन र पर्यटकका लागि पायक पर्ने स्थानमा मन्दिर निर्माण गरिने बताइएको छ ।

मन्दिर निर्माणका लागि करीब १५ करोड रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर परिषरमा राधाकृष्णको मुर्तिसहितको मन्दिर निर्माण गरी नित्य पुजाआजा गरिने छ । त्यस्तै साधु आश्रम निर्माणको योजना छ । युवा लक्षित आध्यात्मिक कार्यक्रम र जीवनका लागि खाना (खानाबाट बञ्चित नागरिकलाई खाना खुवाउने ) कार्यक्रम संचालन गरिने छ ।

मन्दिर निर्माणका लागि वर्गफिट जग्गा अनुसारको नगद रकम सहयोग गर्न सकिने छ । ‘जग्गादेखि नगदसम्म सहयोग गर्न सकिने छ, अध्यक्ष सुवास भण्डारीले भन्नुभयो, सहयोग जुटाउनका लागि भक्तजनसँग भेला र छलफल जारी छ ।’

उहाँले मन्दिर निर्माणका लागि सहयोग गर्न भक्तजन उत्साहित देखिएको बताउनुभयो । सहयोग गर्नका लागि ९८०१२०५८७८ र ९८०११०८१०८ मा सम्पर्क गर्न सकिने छ ।
यसैबीच, संघले कृष्ण जन्माष्टमीको अवसरमा आज भदौ १४ गते सोमबार पोखरामा विशेष कार्यक्रम गर्दैछ । दिउँसो २ बजदेखि राति १२ बजेसम्म विविध कार्यक्रम गरिने जनाइएको छ ।

दिउँसो १२ देखि २ बजेसम्म भजन किर्तन, ४ देखि ६ बजेसम्म अभिषेक र दीपदान, साँझ ६ बजेदेखि ७ बजेसम्म प्रवचन, ७ बजेदेखि १० बजेसम्म सांस्कृतिक कार्यक्रम, राति १० देखि १२ बजेसम्म अभिषेक, दीपदान र राति १२ बजे दर्शन आरती गरिने छ । कोरोना संक्रमणका कारण सबै कार्यक्रम जुम मार्फत गरिने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives