पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । माछापुच्छ्रे गाउँपालकिा, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकाका नौ वटै वडामा शिविर सञ्चालन भएको हो ।
हिमालय आँखा हस्पिटल र आई केयर फाउन्डेसनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ्रे गाउँपालिकाका सबै वडामा सञ्चालन भएको हो । नौ वटै वडामा भएको शिविरमा २ हजार जनाले आँखा परीक्षण गराएका थिए । ती मध्ये ३ सय ९३ जनामा मोतिया बिन्दु देखिएकोमा तत्काल १ सय ३२ जनाको शल्यक्रिया गर्नुपर्ने भएको छ ।
शल्यक्रिया गर्नुपर्ने बिरामीलाई माछापुच्छ्रे गाउँपालिकाको व्यवस्थापनमा जाने आउने यातायातको सुविधा र हिमालय आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने व्यवस्था मिलाइएको छ । शिविरमा आँखा परीक्षण गर्न आउने मध्ये मोतिया बिन्दु सँगै मास पलाएको, बोसो पलाएको, आँखा पाकेको, सुख्खा आँखा, पर्दाको समस्या, चस्मा लगाउनु पर्ने बिरामी पनि अध्याधिक देखिएको दृष्टि विशेषज्ञ अस्मिता रावलले जानकारी दिइन् । उनीहरूलाई औषधी दिनुको साथै हिमालय आँखा अस्पतालमा जाँच गराउनका लागि सिफारिस गरिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ स्थित सार्दी खोला स्वास्थ्य चौकीबाट सुरु भएको यो शिविर वडा नं. ४ घाचोकमा आएर समापन भएको हो । शिविरमा आँखा परीक्षण गर्न आउने बिरामीका लागि निःशुल्क औषधिको व्यवस्था प्रतिष्ठानले गरेको थियो भने मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क रूपमा अस्पतालमा नै हिमालय आँखा अस्पतालले गर्नेछ ।
उक्त शिविरमा हिमालय आँखा अस्पतालका दृष्टि विशेषज्ञ समीक्षा श्रेष्ठ, शैलेश्वरी ओझा, निकिता महर, कृतिका पण्डितका, पुजा कुमारी शाहा, पुजा कुमारी, अस्मिता रावल, चित्रा पनेरु, सिमा नेपाल, पिन्की यादव, सुष्तिका आले, स्वष्तीका गिरको टोलीले आँखा जाँच गरेका थिए । चरक इन्ष्ट्रिच्युट अफ हेल्थ साइन्सका विद्यार्थी र महिला स्वयम् सेविकाले सहयोग गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले शिविरले यहाँका दुरदराजका स्थानीय लाभान्वित भएको बताउँदै आगामी दिनमा पनि सहकार्य गर्ने उल्लेख गरे ।
श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले विगत ४ वर्ष देखि दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउनका लागि आँखा शिविर सँगै विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए । उनले शिविरमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । प्रतिष्ठानले महिला समाजसेवी, शिक्षा क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्नुको साथै गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको सचिव पशुपति सुवेदीले जानकारी दिए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसूदन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन घाचोक स्वास्थ्य चौकीका प्रमुख गोविन्द प्रसाद आचार्यले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै
छोरेपाटन माबिमा होटल व्यवस्थापनको पढाइ हुँदै
अपेक्षाकृत सफलता हात पादै सकियो आलु महोत्सव ,५ करोडको कारोबार
आलु महोत्सव भोली सकिँदै, चर्चित लोकदोहोरी गायक सपुत आउँदै
माछापुच्छ्रेमा निःशुल्क आँखा शिविर, २३ जनामा मोतियाविन्दुको समस्या