रमाइलोमा रम्दै आलु महोत्सवका दर्शक

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २, २०८३
a

पोखरा, २ वैशाख । चर्चित कलाकार समीक्षा अधिकारी बुधवार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् ।उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन पनि दिइन् ।

दुस्मन हेरेको हेयौं, कुरा बुझ्नु पर्दछ,नत्र भने जिन्दगी व्यर्थ छ बाटुली, शीरमा शिरबन्दी,  ऐना हेर्दा हेर्दै, बाला पनको उमेर, जुन जस्ती रे, ममताकी खानीलगायतका दर्जन बढी गीत उनले त्यहाँ गाइन । त्यसमध्ये दुस्मन हेरेको हेयौं, कुरा बुझ्नु पर्दछ, नत्र भने जिन्दगी व्यर्थ छ बाटुली धेरै दर्शकले रुचाएको आभास मिल्थ्यो ।

प्रस्तुतिका क्रममा उनलाई दर्शकले मिठो साथ दिए । यतिसम्मकी आफ्ना गीत गाउन लाग्दा दर्शकले उनका गीत फटाफट आफै गाएर छमछमी नाचे । मैदानमा धुलो उडेर पानी नै हाल्नुपर्ने अवस्था सिर्जना भयो ।

समीक्षा जस्तै बुधवार महोत्सवमा कलाकारहरू कुमार पुन, तुलसा क्षेत्री, नवराज अधिकारी, दुर्गा क्षेत्री लगायतले पनि दर्शकलाई नचाए । त्यस्तै रत्यौली प्रतियोगितातर्फ गौरीशंकर आमा समूह, देवीस्थान आमा समूह र राधाकृष्ण आमा समूहले विभिन्न अभिनय मार्फत दर्शकलाई पेट मिचामिची हसाए ।त्यसका अलवा नृत्यतर्फ अम्बिका मा.वि, धवलागिरी बोडिङ, स्नो भ्यु स्कुल, अंकिता सुनार लगायतले पनि आफू सँगसँगै दर्शकलाई नचाए ।

महोत्सवमा बिहीबार कलाकारहरू श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गङ्गा परियारका प्रस्तुतिहरू रहने सांस्कृतिक उपसमिति संयोजक सुशील श्रेष्ठले जानकारी दिए।

महोत्सव अन्त्यतिर आइरहँदा त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको छ । महोत्सवको  छैटौँ दिन बुधबारसम्म करिब ६५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा कुल ५ हजार ३ सय बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए ।

त्यस्तै अन्य व्यापारिक स्टलहरूबाट समेत सामाग्री खरिद गर्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।विशेष गरी त्यहाँ घरायसी सामग्री, लत्ताकपडा, भाँडाकुँडा किन्नेको सङ्ख्या बढी छ ।त्यहाँ आलुको परिकारको एउटा स्टल, कृषितर्फ ३० तथा अन्य १ सय बढी व्यापारिक स्टल रहेका छन्।
सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, महोत्सव अन्तिम तिर भएकाले किनमेलका लागि घुइँचो जस्तै लागेको छ, हामीहरू स्टल सञ्चालकको निरन्तर सम्पर्कमा पनि छौँ, बुधवार साँझसम्म गरी २ करोड ८० लाख बढीको कारोबार भएको अनुमान छ, आयोजक विष्णु पादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने।

त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छ्रे« गाउँपालिका, स्याङ्जा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बागलुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरू महोत्सव स्थल विष्णु पादुका खेल मैदान पुगेका छन् ।

बुधवार साँझसम्म २६ लाख बढीको आलु कारोबार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ । हेमजाको निलो आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकांश उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य स्थानहरूबाट समेत यति वेला आलु लगायत कृषि उपजहरूको कारोबार भइरहेको छ। यही चैत २७ बाट सुरु महोत्सव वैशाख ५ गतेसम्म चल्नेछ।

Related News

सम्बन्धित समाचार