जरोटुप्पोमा सम जयन्ती र सम्मान

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७९
Sama & Samman

पोखरा, २६ माघ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ ।

संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एक सय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो ।

भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गर्नुभएको थियो ।

सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताउनुभयो ।

हरिदेवी कोइरालाले जरोटुप्पोले नेपाली माटो र मौलिकतालाई बोकेर अगाडि बढिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले आफू स्रष्टा साधकको उचित सम्मान र संरक्षणका लागि राज्यसँग सक्दो पहल गरिरहेको उल्लेख गर्नुभयो ।

सम्मानित स्रष्टा के.सी.ले आफूलाई सम्मानले थप उत्साह र जिम्मेवारी थपिदिएको बताउँदै संस्थाप्रति आभार व्यक्त गर्दै सम्मानलाई उचित सम्मानपूर्वक राख्न आफूले प्रयास गर्ने बताउनुभयो ।

कोषका संस्थापक सविन जिसीले आफ्ना हजुरबुबाआमाका नाममा यसरी सामाजिक कार्य गर्न पाउँदा उहाँले हिजो समाजमा पु¥याएको योगदानको स्मरण हुने बताउनुभयो ।

प्रतिभा छनौट समितिका संयोजक प्राज्ञ कृष्णप्रसाद पौडेलले प्रतिभा छनौट प्रक्रिया र स्रष्टाको परिचय गराउनु भएको थियो । पौडेलले ‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका ः लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गर्नु भएकी भण्डारीलाई समाज, साहित्य र राज्यसेवाका हरेक क्षेत्रमा स्थापित बहुआयामिक व्यक्तित्वका रुपमा चिनाउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सामाजिक रुपान्तरणका अभियान्ता भीम रानाभाट, संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनले समको व्यक्तित्व र संस्थाका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा गीताञ्जली साहित्यकार रामनाथ अधिकारी सँगी, साहित्यकार रुद्रबहादुर थापा, शोभाकान्त गौडेल, वसन्त चालिसे, लक्ष्मण थापा, शिव त्रिपाठी, तारानाथ पराजुली, छन्दिका त्रिपाठी, अम्बिका भण्डारी, अम्बिकाप्रसाद भट्टराईलगयातले रचनावाचन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको १ लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गरेको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले स्वागत र असफल गौतमको सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives