गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठी

पश्चिमाको प्रभावले प्राचीन संस्कृति सङ्कटमा

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ५, २०८०
Gandaki Gosti (1)

पोखरा, ५ मंसिर । पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताउनुभयो । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राख्नुभयो ।

जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध सात गोष्ठीपत्र प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा प्राडा माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाहरूको अवस्था’, प्राडा कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको संगीत’, प्राडा ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटहरूको चिनारी र ऐतिहासिकता’, प्राडा जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेशामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गर्नुभयो ।

अतिथि प्रस्तोताका रूपमा डा गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वाल वाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राख्नुभयो ।

संगोष्ठीको समुद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको बताउनुभयो ।

संगोष्ठीको समापन सत्रको समुद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अंग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुर्नलेखन भएको छ त्यसमा ध्यान जान आवश्यक रहेको औल्याउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले विश्ववन्धुत्व हराएको बेला हाम्रा संस्कार संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरीले केन्द्रले स्थापनाकालदेखि अधिराज्यव्यापी बहुभाषिक तथा बहुसांस्कृतिक अध्ययन–अनुसन्धानमा क्रियाशील रहेको धारणा राख्नुभयो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले हाम्रो संस्कृतिलाई समाप्त पार्नेका विरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभयो ।

पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएकाले यस्ता कार्यक्रममा सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका संयोजक जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिनुभयो ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले सङ्गोष्ठी सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।

संगोष्ठीको उद्घाटन सत्रमा नेपाल पुन मगर समाज अर्चलबोटका कलाकारले जातीय पहिचान झल्काउने पुख्यौली नृत्य प्रदर्शन गरेका थिए । यस्तै समापन सत्रमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले मेरो टोपी शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives