१०१ वर्षीय साहित्यकार किञ्जल्कको अभिनन्दन गरिने

रासस
वैशाख २७, २०७८
BDP_Gandaki-kinglak

साहित्यकार गोपाल वैद्य रुकिञ्जल्क । एक सय एक वर्षीय किञ्जल्कको साहित्यिक योगदानको कदर गर्दै अभिनन्दन गरिने भएको छ । तस्बिरः वासुदेव पौडेल÷ रासस

गण्डकी, २७ वैशाख(रासस) । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ ।

एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ ।

समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।

साहित्यकार किञ्जल्कको साहित्यिक योगदानको सम्मान गर्दै अभिनन्दन गर्न लागिएको समितिका सचिव बाँस्तोलाले जानकारी दिनुभयो । समितिमा कास्की, बागलुङ, पर्वत, तनहुँ, गोरखा, चितवन, नवलपुर, रुपन्देही, दाङ र काठमाडौंका साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि रहनुभएको छ ।

बाँस्तोलाका अनुसार समितिले अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने तथा अनुकूल समयमा किञ्जल्कको अभिनन्दन गर्नेछ । विसं १९७८ जेठ २ मा प्यूठानको खलङ्गामा जन्मनुभएका ‘बागलुङे वैद्य’ पोखरा महानगरपालिका­ २ भैरवटोल निवासी हुनुहुन्छ ।

पुख्र्यौली घर बागलुङ भएका उहाँको परिवार २०१५ सालदेखि पोखरामा बसेको हो । आयुर्वेदमा स्नातक उहाँले पोखरा भैरवटोलस्थित निवास भैषज्य सदनमा केही वर्ष अघिसम्म औषधालय सञ्चालन गर्नुभएको थियो ।

नेपाली र संस्कृत भाषामा सिद्धहस्त किञ्जल्कको पहिलो रचना संस्कृतको किञ्चल्क कणिका २०४० सालमा गोरखापत्रमा प्रकाशन भएको थियो । उहाँका हिमाद्री महिमा (संस्कृत, २०६१) बद्री केदार दर्शन (पद्यात्मक, २०५४), नीतिशतकम् (पद्यात्मक, २०५४) कृति प्रकाशित छन् ।

त्यस्तै उहाँका सम्पादित तथा अनुवादित कृति चाणक्य नीतिदर्पण (पद्यानुवाद, २०५४), कुमार सम्भव १, ४, ५ सर्ग (पद्यानुभाव, २०५४), शिव महिमा स्त्रोतम् (पद्यानुभाव, २०५६), विष्णुसहस्त्रनाम (पद्यानुभाव, २०५८), सूक्ति मुक्ताहार (पद्यानुभावसहित, २०५४), लक्ष्मीनृसिंहस्तोत्र भगवच्छरण (२०५७), स्तोत्र साधनपञ्चकम्, कैवल्याष्टक, उपमन्युकृत शिवस्तोत्रको पद्यानुभाव (२०६१) प्रकाशित छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives