पोखरा । मानवसेवा आश्रमद्वारा पोखरामा १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ आजदेखि सुरु भएको छ । पितृ मोक्ष तथा शान्तिको अभीष्टसहित आयोजना गरिएको उक्त महायज्ञ बैशाख २६ गतेसम्म पोखरा–२५ हेमजा आश्रम प्राङ्गणमा सञ्चालन हुने छ ।
महायज्ञ उद्घाटनपूर्व विभिन्न संघसंस्था तथा धार्मिक समूहहरूले सांस्कृतिक झाँकीसहित विशाल शोभा कलश यात्रामा सहभागिता जनाएका थिए ।
महायज्ञको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य तथा गलेश्वर धामका पिठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
आश्रमले पोखरा शाखाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि महायज्ञ आयोजना गरेको जनाएको छ ।

भोलिदेखि महायज्ञमा दैनिक रूपमा बिहान ११ बजेदेखि ४ बजेसम्म भागवत् भाष्कर कमलनयन गौतमको मुखारविन्दबाट सङ्गीतमय भागवत् कथा वाचन हुनेछ । कार्यक्रमअन्तर्गत बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग शिविर, बिहान पूजा–पाठ पारायण, ७ः३० देखि १० बजेसम्म विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम, दिउँसो कथा वाचन, ४ः१५ बजे आरती, ४ः३० बजे प्रसाद वितरण तथा साँझ ७ देखि ९ बजेसम्म भजन कार्यक्रम सञ्चालन हुनेछ भने , प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने यज्ञ मूल आयोजक समितिले जानकारी दिएको छ ।
महायज्ञबाट सङ्कलित रकम मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिमा खर्च गरिनेछ । हाल भवन निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको आश्रमले जनाएको छ । पोखरा महानगरपालिका, प्रदेश तथा सङ्घीय सरकारको सहयोग र दाताहरूको योगदानबाट निर्माण सेवा कार्य अघि बढिरहेको छ ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त, अभिभावकविहीन बालबालिका तथा सडकआश्रित मानवहरूको उद्धार, संरक्षण, उपचार तथा पुनःस्थापनामा निरन्तर सेवा प्रदान गर्दै मानवता प्रवर्द्धन अभियानमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
मानवसेवा आश्रमले महायज्ञ केवल आर्थिक संकलन गर्ने उद्देश्य मात्र नभई धार्मिक तथा आध्यात्मिक चेतनामार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने समेत उल्लेख गरेको छ । साथै, आश्रमले पुण्य कार्यमा सहभागी भई लक्ष्यअनुसार दान गरी सहयोग गरिदिन सर्वसाधारण तथा श्रद्धालु भक्तजनमा आग्रह गरेको छ ।
Related News
सम्बन्धित समाचार
हेमजाको मानव सेवा आश्रममा भोलिदेखि महायज्ञ हुँदै
हेमजा युनाइटेडको आठौँ साधारण सभा भित्ते–पात्रो विमोचनसँगै खेलाडी सम्मान
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग
सामुदायिक सेवा केन्द्र हेमजाको आठौं साधारण सभा