पोखरा । मानव सेवा आश्रमद्वारा पोखरामा आयोजना गर्न लागेको १४ औँ श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ। पितृ मोक्ष तथा शान्तिको अभिस्टले आयोजना गरिएको महायज्ञ भोलि अर्थात् वैशाख १९ गतेदेखि २६ गतेसम्म पोखरा–२५ हेमजामा सञ्चालन हुनेछ।
महायज्ञ अवधिभर कथा वाचक कमल नयन गौतमले दैनिक रूपमा कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। मानव सेवा आश्रमले आयोजना गर्ने महायज्ञहरूमा गौतमले दक्षिणा विना नै सहयोग गर्दै आएका छन्।
महायज्ञमा वैशाख २० गतेदेखि बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग शिविर, ७ बजेदेखि पूजा तथा पाठ पारायण, ७ः३० देखि १० बजेसम्म विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, ४ः३० बजे प्रसाद वितरण तथा साँझ ७ देखि ९ बजेसम्म भजन कार्यक्रम सञ्चालन हुनेछ। साथै, प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको आश्रमले जनाएको छ।
महायज्ञमार्फत मानव सेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि सहयोग सङ्कलन गरिनेछ। हाल आश्रमको भवन निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ भने स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगसहित दाताहरूको योगदानबाट निर्माण कार्य अघि बढाइएको छ ।
मानव सेवा आश्रमको सञ्चालनमा करिब ४० प्रतिशत अपनत्व सरकारको रहेको र बाँकी सहयोगी मनहरूको योगदान रहेको आश्रमले जनाकारी दिएको छ । आगामी दिनमा ७० प्रतिशत जिम्मेवारी सरकारले लिने र ३० प्रतिशत सहयोगी मनहरूलाई दिइने लक्ष्य रहेको बताइएको छ।
पोखरामा निर्माणाधीन भवनजस्तै अन्य १५ जिल्लामा पनि आश्रमका संरचना निर्माण भइरहेका छन्। हालसम्म आश्रमले सहयोगी दाताहरूको योगदानबाट नै खर्च व्यवस्थापन गर्दै आएको छ ।
मानव सेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त तथा अभिभावकविहीन बालबालिका तथा सडक मानवहरूको उद्धार, संरक्षण, औषधोपचार, पुनः स्थापनामा सक्रिय रहँदै उपचारपछि परिवार पहिचान भएका व्यक्तिहरूको पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।
Related News
सम्बन्धित समाचार
हेमजा युनाइटेडको आठौँ साधारण सभा भित्ते–पात्रो विमोचनसँगै खेलाडी सम्मान
दयाशंकर पालिखे पत्रकारिता सम्मान सूर्यचन्द्र र कृष्णमणिलाई
सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग
सामुदायिक सेवा केन्द्र हेमजाको आठौं साधारण सभा
माछापुच्छ्रे गाउँपालिकामा सबै वडामा निःशुल्क आँखा शिविर