पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीले सञ्चालन र दयाशंकर पालिखेका परिवारद्वारा स्थापना गरिएको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे पत्रकारिता सम्मानबाट पत्रकार सूर्यचन्द्र बस्नेत र कृष्णमणि बराललाई सम्मान गरिने भएको छ । पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रतिभा छनोट समितिले २०८१ बाट पत्रकार बस्नेत र २०८२ बाट पत्रकार बराललाई सम्मान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो ।
पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ, दोसल्ला र सम्मान पत्र छ । पत्रकार द्वयलाई आगामी वैशाख २२ गते दयाशंकर पालिखेको स्मृति दिवसको दिन सम्मान गरिने पत्रकार महासङ्घ कास्कीका सचिव भूपाल गुरुङले जानकारी दिए ।
प्रतिभा छनोट समितिमा पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी रवीन्द्रनाथ बास्तोला, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, पत्रकार महासङ्घ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली र पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल र सचिव भूपाल गुरुङ सदस्य थिए ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर २ दमौलीमा जन्मिएका बस्नेत विगत ३० वर्षदेखि पत्रकारितामा सक्रिय छन् । राष्ट्रिय समाचार समितिमा वरिष्ठ सम्पादकको रूपमा कार्यरत बस्नेतले राष्ट्र पुकार साप्ताहिक, हिमालय टाइम्स, नेपाल समाचारपत्र र आदर्श समाज दैनिकमा पनि काम गरेका थिए ।
पोखरा ७ नुवारथोकमा जन्मिएका बराल २०५५ सालदेखि पत्रकारितामा सक्रिय छन् । बराल बिबिसी नेपाली सेवा, अन्नपूर्ण पोस्ट दैनिक र इनेचर न्युज डटकममा कार्यरत छन् । बरालले दी हिमालय टाइम्स, समाधान दैनिक, देशान्तर साप्ताहिक, नेपाली टाइम्स पनि काम गरेका थिए । पत्रका द्वयलाई पत्रकारितामार्फत समाज, राष्ट्र र लोकतन्त्रमा पु¥याएको योगदान स्वरूप सम्मान गर्न लागिएको अध्यक्ष बरालले बताए ।
Related News
सम्बन्धित समाचार
सुब्बा नाथु प्रल्हाद प्रतिष्ठान रजत जयन्ती, राष्ट्रिय विभूति घोषणा गर्न माग
सामुदायिक सेवा केन्द्र हेमजाको आठौं साधारण सभा
माछापुच्छ्रे गाउँपालिकामा सबै वडामा निःशुल्क आँखा शिविर
माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै
छोरेपाटन माबिमा होटल व्यवस्थापनको पढाइ हुँदै