माछापुच्छ्रे  गाउँपालिकामा निःशुल्क आँखा शिविर सुरु

देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिका शिविर सञ्चालन भएको हो ।

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २, २०८३
1

पोखरा । कास्कीको माछापुच्छ्रे  गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । माछापुच्छ्रे  गाउँपालिका, कास्कीको आयोजना श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानको संयोजन तथा व्यवस्थापनमा पालिकामा शिविर सञ्चालन भएको हो ।

हिमालय आँखा हस्पीटल र आई केयर फाउन्डेसनको सहयोगमा भएको उक्त शिविर माछापुच्छ्रे  गाउँपालिकाका सबै वडामा सञ्चालन हुने छ । बुधवार माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ स्थित सार्दिखोला स्वास्थ्य चौकीबाट सुरु भएको यो शिविर पालिका सबै वडामा सञ्चालन हुनेछ ।

जस अन्तर्गत ३ गते वडा नं. १ को माछापुच्छ्रे  स्वास्थ्य चौकी, ४ गते घाचोक स्वास्थ्य चौकी, ६ गते वडा नं. ५ को रिभान स्वास्थ्य चौकी, ७ गते वडा नं. ९ को  सिधिई सामुदायिक स्वास्थ्य इकाई, ८ गते वडा नं. ८ को आधारभूत स्वास्थ्य चौकी, ९ गते वडा नं.६ को मणि डाँडा सामुदायिक स्वास्थ्य इकाई, १० गते वडा नं. ७ को धम्पुस सामुदायिक स्वास्थ्य इकाई र ११ गते  वडा नं. ४ लाहाचोक स्वास्थ्य चौकीमा बिहान १० बजे देखि बेलुका ४ः३० बजे सम्म शिविर सञ्चालन हुने छ ।

सार्दिखोलामा बुधवार भएका शिविरमा २ सय २० जनाले आँखा परीक्षण गरेका थिए । जसमध्ये ५१ जनालाई मोतिया बिन्दु देखिएको छ । ती मध्ये १८ जनाको तत्काल मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको सार्दिखोला स्वास्थ्य चौकीकी प्रमुख अनिता घिमिरेले जानकारी दिइन् । आँखा परीक्षण गरेका मध्ये ३१ जनालाई अन्य समस्या देखिएकाले हिमालय आँखा अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ ।

शिविरमा आँखा परीक्षण गर्न आउने बिरामीका लागि निःशुल्क औषधिको व्यवस्था प्रतिष्ठानले गरेको छ भने मोतिया बिन्दुको शल्यक्रिया निःशुल्क रूपमा अस्पतालमा नै हिमालय आँखा अस्पतालले गर्ने भएको छ । बिरामीलाई अस्पताल सम्म जाने आउने बसको व्यवस्था पालिकाले गर्ने भएको छ । पालिकाका सबै वडामा शिविर सम्पन्न गरेपछि शल्यक्रिया गर्नु पर्ने बिरामीलाई अस्पतालमा नै लगेर शल्यक्रिया गरिने व्यवस्था गरिएको गरिएको श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले जानकारी दिए ।

उक्त शिविरमा हिमालय आँखा अस्पतालका दृष्टि विशेषज्ञ समीक्षा श्रेष्ठ, शैलेश्वरी ओझा, निकिता महर, कृतिका पण्डितका टोलीले आँखा जाँच गरेका थिए ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले पालिका दूर दराजका नागरिक स्वास्थ्य र शिक्षामा पहुँच पु¥याउनका लागि पालिकाले विभिन्न संघ संस्था सँग सहकार्य गरेका यस्ता खालका कार्यक्रम गर्दै आएको बताए ।

‘पालिका भित्र सबै नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच पु¥याउनका लागि पालिकाले कार्यक्रमहरू ल्याउने गरेको छ त्यसैको उदाहरण यो प्रतिष्ठान सँग हामीले सहकार्य गरेका हौ’ अध्यक्ष गुरुङले भने,‘पालिकामा एक चोटि सबै वडामा आँखा शिविर सञ्चालन गर्ने प्रतिष्ठान प्रति हामी पालिकाको तर्फबाट आभार प्रकट गर्दछौँ ।’ सबै वडामा शिविर सञ्चालन हुने भएकोले आफ्नो पायक पर्ने ठाउँबाट लाभ लिन पालिकाका सबै नागरिकलाई उनले आग्रह गरे।

श्री देवीरवण–कृष्णकुमारी स्मृति प्रतिष्ठानका अध्यक्ष डा. अनिल सुवेदीले विगत ४ वर्ष देखि दुर्गम क्षेत्रमा नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउनका लागि आँखा शिविर सँगै विभिन्न खालका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताए ।

‘स्व.बुबा र आमाको नाम प्रतिष्ठान स्थापन भएदेखि नै दुर्गम भेगमा रहेका नागरिकलाई लक्षित गरेर विभिन्न खालको स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौ’ उनले भने, ‘शिविरबाट बढी भन्दा बढी यहाँका नागरिकले लाभ लिन म आग्रह गर्दछु ।’ प्रतिष्ठानले महिला समाजसेवी, शिक्षा क्षेत्रमा काम गरेका व्यक्ति तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे  गाउँपालिका स्वास्थ्य शाखाका संयोजक डिल्लिराम दाहाल, हिमालय आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक सुभाष नेपाल सार्दिखोला स्वास्थ्य चौकीकी प्रमुख अनिता घिमिरेलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार