पोखरा १३ का विपन्न तथा मजदुरका लागि निशुल्क स्वास्थ्य बिमा कार्ड

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १७, २०८०
13

पोखरा, १७ कात्तिक । पोखरा १३ का विपन्न तथा मजदुरले निशुल्क स्वास्थ्य बिमा कार्ड पाउनुभएको छ ।

वडा कार्यालय परिसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई स्वास्थ्य बिमा कार्ड हस्तान्तरण गरिएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. भरत खत्रीको प्रमुख आत्थ्यितामा वडाका एक सय ९ जना विपन्न तथा मजदुरलाई निशुल्क स्वास्थ्य बिमा कार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै डा. खत्रीले वडाले राम्रो काम गरेको बताउनुभयो । निशुल्क स्वास्थ्य बिमा कार्ड विपन्न र मजदुरलाई उपलब्ध गराएपछि अब पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था नआउने उहाँले उल्लेख गर्नुभयो । “बिरामी भएपछि पैसा खोज्न जानुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले सरकारले नै नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराएको हो ।”, उहाँले भन्नुभयोे ।

खत्रीले स्वास्थ्य बिमा कार्डको सदुपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो । बिरामी भएको बेला निर्धक्क उपचार गर्न नागरिकले पाउन् भनेर निशुल्क स्वास्थ्य बिमा कार्ड दिइएको उहाँको भनाइ छ ।

पोखरा १३ का वडाध्यक्ष किरण बरालले स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्य स्वरुप वडाका विपन्न वर्गलाई निशुल्क स्वास्थ्य बिमा कार्ड उपलब्ध गराइएको जानकारी दिनुभयो ।

उहाँले यसअघि पनि वडाले स्वास्थ्य क्षेत्रका गतिविधि गर्दै आएको बताउँदै वडाका प्रत्येक स्थानमा स्वास्थ्य शिविर संचालन गरी नागरिकलाई स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र हिमालयन आँखा अस्पतालमा बिरामीले निशुल्क स्वास्थ्य बिमा कार्ड मार्फत सेवा पाउने वडाले जनाएको छ ।

दैनिक मजदुरी गरेर पेट पाल्नेहरुका लागि स्वास्थ्य उपचार कठिन हुने भएकाले वडाले निशुल्क स्वास्थ्य बिमा कार्ड हस्तान्तरणको अवधारणा ल्याएको हो । स्वास्थ्य क्षेत्रमा वडाले गरेका काम प्रशंसनीय रहेको स्थानीय भनाई छ ।

स्वास्थ्य बिमा कार्ड वितरणले निम्न वर्गीय वडाबासीका समस्याको समाधान हुने विश्वास वडाको छ । यस अलवा वडामा भिटामिन “ए” र जुकाको औषधि समेत खुवाइदै छ ।

शुक्रबार (आज) देखि शनिबार (भोली) सम्म चल्ने उक्त कार्यक्रममा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन “ए” क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै गरेको वडाले जानकारी गराएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives