खेलकुद पत्रकार मञ्चद्वारा पूर्व अध्यक्ष घलेको स्वागत

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ९, २०८०
nsjf 1

पोखरा, ९ कात्तिक । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पूर्व अध्यक्ष मोहन घलेको स्वागतमा बिहीबार एक कार्यक्रमको आयोजना गरेको छ ।

विगत केही वर्षदेखि जापानमा बस्दै आउनुभएका घलेलाई पोखरा आएको मौका पारेर मञ्च गण्डकीले स्वागत गरेको हो ।

पोखरा रंगशालाको मिडिया सेन्टरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष घलेले मञ्चले गरिरहेका गतिविधिको प्रशसा गर्नुभयो । उहाँले मञ्च स्थापनादेखि आफ्नो कार्यकाल पुरा गर्दाका दिन स्मरण गर्नुभयो । मञ्चले गरिरहेका कार्यक्रमका कारण यसको गरिमा बढ्दै गएको उहाँले बताउनुभयो ।

मञ्चले आयोजना गर्ने आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा यथाशक्य सहयोग गर्ने वाचा उहाँले गर्नुभयों । ‘अवार्ड कार्यक्रम निरन्तर गर्नुपर्छ, बरु खर्चमा कटौती गरौं’ उहाँले भन्नुभयो ।

खेल पत्रकारको क्षमता अभिवृद्धिको लागि नेपालका विभिन्न ठाउँमा रहेका एकेडेमीहरुको अवलोकन भ्रमण गर्न नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष समेत रहेका घलेले सुझाउनुभयो ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एकराज गिरी, पूर्व सल्लाहकार सुदर्शन रन्जित, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशीकुमार पौडेल र सदस्य उमेश पुनले नेपाल खेलकुद पत्रकार मञ्चले गर्दै आएका कार्यक्रम सहित आगामी योजनाको बारेमा समेत अवगत गराउनुभयो ।

यसैबिच यहीं कात्तिक १५ गते पोखरामा आयोजना गरिने मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशनको तयारी समेत अन्तिम चरणमा पुगेको महासचिव पौडेलले जनाउनुभयो । मञ्च गण्डकीमा खेलकुद बिटमा काम गर्ने पोखराका ७४ जना पत्रकार आवद्ध हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives