पर्यटन टिकाउन होटल संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण

बैंकको सावाँ र व्याज तत्काल तिर्न नसक्ने घोषणा

राष्ट्र न्यूज सम्वाददाता
असाेज २६, २०८०
Rastra Bank

पोखरा, २६ असोज । कोभिड १९ का कारण पर्यटन क्षेत्र शिथिल बन्न पुगेको जनाउँदै होटल संघ पोखरा नेपालले व्यवसाय टिकाउनका लागि आबश्यक सहजिकरणका लागि आग्रह गर्दै नेपाल राष्ट्र बैंकलाई एक ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिकामा व्यवस्था भए अनुसार पर्यटन क्षेत्रमा लगानी गरिएको कर्जाको पुनरतालिकिकरण, पुनर्संरचना र पुनर्लगानीको व्यवस्था प्राथमिकताका साथ हुनु पर्ने भन्दै संघले केन्द्रिय बैंकका गर्भनर महाप्रसाद अधिकारीको ध्यानाकर्षष गराएको हो । यसका लागि संघको एक टोली शुक्रबार नेपाल राष्ट्र बैंकको पोखरा कार्यालय पुगी त्यस कार्यालयकी निर्देशक आर्या जोशीलाई सो पत्र बुझाएको थियो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड १९, रुस–युक्रेन युद्ध, पोखरा आउने अस्तव्यस्त राजमार्ग र यति एयरको जहाज दुर्घटनाको असरले पोखराको पर्यटन अहिले निकै शिथिल बन्न पुगेको बताउनुभयो । उल्लेखित कारणले पोखरामा पर्यटक आगमन नगण्य रहेको भन्दै अध्यक्ष सुवेदीले बैंक तथा वित्तिय संस्थालाई तिर्न बुझाउनु पर्ने कर्जाको सावाँ तथा व्याज तत्कालका लागि बुझाउन असमर्थ रहेको अवगत गराउनुभयो ।

हाल भएका कर्जाहरूलाई कम्तीमा ३ वर्ष अबधि थप गरी पुनर्तालिकीकरण गरि पूँजीकरण गरिएको ब्याजलाई अनुपातित रूपमा पुनर्तालिकीरण गरिएको कर्जाको व्याज र साँवा तिर्ने समयसीमा असोज मसान्तसम्म तोकिएको हुँदा आर्थिक भार थेग्न नसकी एकै पटक तिर्न नसकिने हुँदा लामो अवधिको लागि किस्ताबन्दीमा तिर्ने, बुझाउने व्यवस्था हुनु पर्ने माग संघको छ ।

बैंैंक तथा वित्तीय संस्थाले कुनै प्रकारको जरिवाना शुल्क लिन नपाउने तथा व्यवसायीलाई कर्जा भुक्तानी गर्न बाध्यकारी बनाउन नपाउने तथा व्यवसायीको धितो लिलामी गर्ने जस्ता कार्य हाललाई बाध्यकारी नगर्न समेत संघले ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्रमा थप भनिएको छ– ‘पर्यटन व्यवसायमा कमर्सियल बैंकहरुले गर्ने लगानी अनिवार्य ढंगले टोकनको रुपमा गर्ने व्यवस्था गर्दै आर्थिक संकटको समयमा गरिएको लगानीको जोखिमलाई कम गर्न उच्च व्याजदरमा रहेको ऋणलाई न्यूनतम व्याजदर कायम गर्न बैंकहरुलाई परिपत्र गरियोस् ।’

राष्ट्र बैंकको निर्देशिका बमोजिमको आर्थिक संकटको समयमा नगद प्रवाहको समस्या भएको कारणले बैंकलाई तिर्न नसकिएको व्याजलाई दुई वर्षमा बाँडेर वेलुनिङ विधिबाट भुक्तानी गर्ने व्यवस्था गरिनुपर्ने माग गर्दै संघले यस्तो व्यवस्था गर्दा हाल सम्म नियमितरुपमा साँवा व्याज भुक्तानी गरिरहेका ऋणीहरुलाई बैंकले व्याजमा विशेष छुटको व्यवस्था गर्न आग्रह गरिएको छ ।

बैंकहरुले पर्यटन क्षेत्रमा भएको लगानीको व्याजदर एकल अंकमा हुने व्यवस्था गरिनुपर्ने, व्याजमा आधारदर मात्र कायम गरिनुपर्ने, कोभिड र त्यस पछिको विग्रदो आर्थिक अवस्थालाई मध्येनजर गरी पर्यटन क्षेत्रको अडिट प्रतिवेदनमा वासलातमा कुल संचालन मुनाफा लगातार ऋणात्मक भई बैंकले ऋण प्रवाहमा अवरोध गर्ने गरेको व्यवस्थालाई हटाइनुपर्ने र विद्युत उत्पादनको लगानीमा रहेको व्यवस्था पर्यटन क्षेत्रमा समेत लागु गरिनुपर्ने माग पनि रहेका छन् ।

होटल उद्योगलाई पनि निर्यात व्यवसायिहरुले पाएको क्यास ब्याक इन्सेन्टिभ दिइने व्यवस्था गरिदिनु पर्ने बुँदा पनि उल्लेख गरिएको छ । सहुलियत कर्जाको सिमा वृद्धि गरिनुपर्ने तथा यसरी प्राप्त गरिनुपर्ने सेवा सुविधाहरु कतिपय होटलहरुले प्राप्त गर्न नसकेको र कार्यान्वयन हुन नसकेको हुँदा सहजिकरण गर्दै कार्यान्वयन भए नभएको अनुगमन कार्यका लागि निजी क्षेत्र सम्मिलित अनुगमन समिति गठन गरिनुपर्ने माग संघको छ ।

होटलमार्फत विदेशी एजेन्टहरुलाई डलरमा कमिसन भुक्तानी गर्दा भुक्तानीको सिमा बढाइनुपर्ने साथै प्रक्रिया झन्झटिलो रहेको हुंदा होटलहरुले तोकेको व्यक्तिको नाममा डलरको प्रिपेड कार्ड उपलब्ध गराई सहजिकरण गर्न पनि संघले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय पर्यटकहरुद्वारा अधिकांश भुक्तानी एवम् कारोबार क्रेडिट कार्ड मार्फत हुने भएकाले क्रेडिट कार्डको प्रयोगमा बैंकहरुले लिदै आएको ३ प्रतिशत सेवा शुल्क धेरै महंगो भएकोले यसलाई घटाई बढीमा १ प्रतिशत कायम गरिनुपर्ने सुझाव पनि संघले दिएको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै पोखरा कार्यालयकी निर्देशक जोशीले व्यवसायीका मागहरुप्रति आफू सकारात्मक रहेको भन्दै ती मागहरुलाई यथाशीघ्र केन्द्रिय कार्यालयलाई उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

हानका केन्द्रिय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले अहिले होटल क्षेत्रको अकुपेन्सी ८० प्रतिशत हुनुपर्नेमा २० देखि ३० प्रतिशत पनि नभएको सुनाउनुभयो ।

अग्रज पर्यटन व्यवसायी रामचन्द्र बहादुर भट्टराईले कोभिड र रसिया– युक्रेन युद्धको असर नेपाली पर्यटनमा प्रत्यक्ष परेको भन्दै लेकसाइडमा पर्यटक नहुँदा अहिले डेडसाइड जस्तो बन्न पुगेको गुनासो गर्नुभयो ।

संघका महासचिव राजेन्द्र ढकालले पछिल्लो इजरायल प्यालेष्टाइन युद्धको असर समेत पर्यटन क्षेत्रमा देखिन थालेको भन्दै व्यवसायीलाई अफ्ठ्यारो पर्दा बैंकहरुबाट झनै न्याक्ने काम भएको दुःखेसो पोख्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives