पोखरा महानगरपालिका वडा नं.१६ र १९ मा निःशुल्क एम्बुलेन्स सेवा

राष्ट्र न्यूज सम्वाददाता
असाेज २, २०८०
Ambulance1

पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं.१६, १९ र नव आदर्श सामुदायिक विकास समाज लामाचौर तथा मातृशिशु मितेरी अस्पताल बिच निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

वडा कार्यालयको आमा पोषण कार्यक्रम अन्तरगत आफ्ना नागरिकहरूलाई महानगरभित्रका अस्पतालहरूसम्म पुग्नका लागि नव आदर्श सामुदायिक विकास समाजले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा वडा अध्यक्षद्धय अमृत शर्मा तिमील्सिना र पुष्पेन्द्र पाण्डे तथा समाजका अध्यक्ष स्वागत मानसिं भण्डारी र अस्पतालका स्वास्थ्य सेवा प्रमुख धर्मदेव ढकालले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार नव आदर्श सामुदायिक विकास समाजले पोखरा १६ र १९ का वडावासीहरूलाई बिरामी भई उपचारका लागि अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनेछ ।

उपचार पश्चात् घर फर्कन परेमा एम्बुलेन्स तथा उपचारका क्रममा मृत्यु भएमा सववाहन सेवा समेत समाजले उपलब्ध गराउनेछ । तर, सेवाका लागि पोखरा १६ र १९ मा स्थायी बसोबास गरिरहेको भन्ने प्रमाण खुल्ने कागज भने सेवाग्राहीले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ ।

सेवाबापत वडा कार्यालयहरूले समाजलाई भुक्तानी दिनेछ । आफ्ना नागरिकहरूका लागि निःशुल्क व्यवस्था गरिएको भए पनि वडा कार्यालयको तर्फबाट भने सेवाबापतको रकम भुक्तानी गर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहवरमा गरिएको उक्त सम्झौता एक वर्षसम्म कायम रहनेछ ।

सम्झौता अनुसार पोखरा १६ र १९ का जनताले नव आदर्श सामुदायिक विकास समाज र मातृशिशु मितेरी अस्पतालद्वारा सञ्चालित एम्बुलेन्स तथा शव वाहनबाट चौबिसै घण्टा निःशुल्क सेवा लिन सक्ने पोखरा १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताउनुभयो ।

एम्बुलेन्स सेवाका लागि नव आदर्श समाजको फोन नं ०६१–४४४१००, ९८५६०१५२०६, ९८५६०१६२०६ तथा मातृशिशु अस्पतालको ०६१–४४३१४४ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको पोखरा १९ का वडा अध्यक्ष पाण्डेले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वास्थ्य सेवामा नगर बासीहरूको सहज पहुँच पु¥याउनका लागि यस प्रकारका समझदारीहरूले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिकाद्धारा सञ्चालित शिशुवा अस्पतालले पनि अत्याधुनिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । नागरिकको स्वास्थ्य सेवाका लागि पोखरा महानगरपालिका मातहतमा १ अस्पताल, २ प्राथमिक स्वास्थ्य केन्द्र, १९ स्वास्थ्य चौकी, २ आयुर्वेद औषधालय, १ सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, २३ सहरी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives