रोकामगरलाई आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
जेठ ९, २०८०
Help

पोखरा, ९ जेठ । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहनु भएकी तमकुमारी रोकामगरलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गर्नुभयो ।

पोखरेललाई साथ दिन पोखरा १० का बेलायती भूपू सैनिक ८६ वर्षीय टेकबहादुर गुरुङ लौरो टेकेर तमकुमारीलाई भेट्न अस्पताल शैयामा पुगेपछि ७ हजार २ सय नगद दिदै भन्नुभयो ‘नातिनी हरेस नखानु छिट्टै होसमा आएस्, मेरो आशीर्वाद लागोस् ।’

खेतीपाती र घरगृहस्थी चलाइरहेकी २२ वर्षकी तमकुमारी गत बैशाख २६ गते मङ्गलबार घाँस काट्न जाँदा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको हो । तमकुमारी रोका मगर म्याग्दीको मालिका गाउँपालिका वडा नं. ३ पात्लेकी रैथाने वासिन्दा हुनुहुन्छ । पोखरामा उपचाररत तमकुमारीका ८ महिनाकी छोरी र ४ वर्षका छोरा अहिले गाउँमै छन् ।

पति विकल रोकामगरले उपचारको लागि २५ हजार जोहो गर्नुभयो । एम्बुलेन्समा पोखरा ल्याउँदा १२ हजार सकियो । आमा चन्द्रकली पुनमगरले ३० हजार ऋण खोजेर छोरीको उपचारमा पहल गर्नुभयो । परिवारसँग भएको रकम सकिएपछि थप उपचारका लागि भौतारिएका विकललाई सामाजिक अभियन्ता तथा आफन्ती भीमसरा घर्तीमगरले साथ दिइरहुन भएको छ ।

भीमसराको पहलमा स्थानीय व्यक्ति, संघसंस्था, मालिका गाउँपालिकाको कार्यालय र कतारमा रहेका नेपालीले सहयोग गर्दा ३ लाख ७ हजार २ सय ५ सङ्कलन भएको छ ।
भीरबाट लडेर अचेत भएकी तमकुमारीको टाउको, अनुहार, घाँटी र दाहिने हातमा गम्भीर चोट लागेको थियो ।

बाग्लुङ ताराखोलाका रमन घर्तीमगरले ३५ हजार ५ सय ५० रुपैयाँ सहयोग गर्नुभयो । उहाँलाई थप उपचारका लागि अर्को अस्पताल लैजानु पर्ने अवस्था छ । सबैको सहयोग पाएमा उहाँको उपचार सम्भव भएकाले मनकारी मनसँग परिवारले सहयोगको अपेक्षा गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives