नेपाल ट्रायथोलन सङ्घ प्रादेशिक संरचनामा, गण्डकीको अध्यक्षमा सुमन

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २०, २०७९
trayathlan

पोखरा,२० चैत । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ ।

ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी चयन हुनुभएको छ ।

यसैगरी समितिको सदस्यहरुमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहनुभएको छ ।

नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन सहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घले पोखरामा वर्षेनी एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्रायथोलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औँल्याउनुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताउनुभयो ।

नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives