सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र

राष्ट्र न्यूज सम्वाददाता
माघ २५, २०७९
Sothar

पोखरा, २५ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र पारिएको छ ।

‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेला फागुन १ देखि ३ गतेसम्म चल्नेछ ।

मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सम्पन्न गर्नका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

मेलामा विशेष गरी सोंथर बेँसी लगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री गरिनेछ ।

त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो÷ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिक तर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने छन् ।

भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिने छ ।

त्यस्तै, मादी गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी बीच सोंथर बेँसी विषयक बक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ ।

मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गर्ने भएको छ । ३५ वर्ष अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै गर्न लागिएको छ ।

‘३५ वर्ष पछि पुनः मेला हुन लाग्दा स्थानीयहरुमा छुट्टै खुशी र उत्साह छ, सोंथर बेँसी विकास समितिका अध्यक्ष ओम प्रकाश गुरुङले भन्नुभयो, मेलालाई सभ्य, भव्य र सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौं ।’

मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी । सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् ।

फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने छ । त्यस्तै नजिकै टारी खेतहरुमा गोठहरु समेत रहेकाले गोठमा खिर खाने जस्ता अनुभव लिइ आनन्द समेत लिन सकिनेछ ।

कसरी पुग्ने सोंथर बेँसी ? धेरै गाउँ ठाउँहरु बाट सोंथर बेँसी पुग्न सकिन्छ

 – पोखरा–२६ विजयपुरबाट कालिका, सौर्य, भगवतीटार हुँदै थुम्सीकोटसम्म २० कि.मिको दुरीमा पुगिन्छ ।

– पोखरा–१३, भद्रकालीबाट काहुँखोला, कसेरी, चितेपानी,भैँसे, तारकाङ बेँसी,भगवतीटार हुँदै थुम्सीकोटसम्म १८ कि.मि.को दुरीमा पुगिन्छ ।

– पोखरा–३१, वेगनासबाट स्याङ्खुदी, सौर्यबजार, भगवतीटार हुँदै पनि थुम्सीकोट पुगिन्छ । लमजुङको करापुटारबाट कल्याङबेँसी हुँदै मुग्रीबेँसीबाट समेत थुम्सीकोट पुग्न सकिन्छ ।थुम्सीकोटबाट मकैखोला, कयरे, ढोडेनी, लुम्दी हुँदै १० कि.मि.को दुरीमा सवारी साधनबाट सोंथर बेँसी सजिलै पुगिन्छ ।

– यदि थुम्सीकोट बाट पैदलयात्रा गर्ने हो भने वार्दीखोलाको तिरैतिर हिँडेर १ घण्टाको पैदल यात्रापछि सोंथरबेँसी पुगिन्छ ।

पोखराबाट जम्मा ३० कि.मि.को दुरीमा सोंथर बेँसी रहेको छ । हालः नागीधार र पाखुरीकोट गाउँबाट पनि सो बेँसीसम्म सडक पुगेको छ भने भाचोकबाट जोड्ने क्रममा रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives