देश र जनताको समृद्वि मेरो लक्ष्य – बराल

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २९, २०७९
photo 29

पोखरा, २९ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले देश र जनताको समृद्वि आफ्नो लक्ष्य भएको बताउनु भएको छ ।

पोखरा ३२ मा मङ्गलबार घरदैलो र मतदाता भेटघाटका क्रममा उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले आमनेपालीको आवश्यकतालाई संसदमा उठाउने भन्दै आफ्नो आवाजले सबैलाई न्याय गर्ने बताउनुभयो ।

उहाँले स्थानीय जनताको आवश्यकता अनुसार स्थानीयलाई खुशी बनाउने गरी काम गर्ने उल्लेख गर्नुभयो । ‘जहाँ जे आवश्यकता छ प्राथमिकताका आधारमा त्यहि गर्छु, उहाँले भन्नुभयो – यसले आवश्यकतालाई सम्बोधन गर्ने छ र स्थानीय खुशी हुनु हुनेछ ।

उहाँले समय अभावका कारण सबै मतदाताको घरघरमा पुग्न नसकेको क्षमा माग्दै मतदाताको घरमा नपुगे पनि मतदाताको भावना, चाहाना र आवश्यकतालाई नजिकबाट बुझेको बताउनुभयो ।

कास्की काँग्रेसका सभापति एवं पाँच दलीय गठबन्धनका साझा उम्मेद्बार बरालले ओलीको व्यत्तिगत स्वार्थ र अहंकारबाट देशलाई जोगाउन र संविधानको रक्षा गर्न गठबन्धन गर्नु परेको प्रष्ट पार्नुभयो ।

नेता बरालले राजनीतिलाई नयाँ ढंगबाट सोच्नुपर्ने भन्दै राजनीतिलाई प्रेम र सद्भावसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले विद्यालय र विश्वविद्यालयको शिक्षामा आमूल परिवर्तन गरी सीपमूलक र उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो ।

उम्मेद्बार बराल बुधबार पोखरा २६ मा घरदैलो र मतदाता भेटघाट गर्नु हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives