गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा

रासस
कार्तिक ४, २०७९
RadhikaKandel_Pokhara_RSS_04_20221021145534_0O7A6385(2)

पोखरा, ४ कात्तिक । गण्डकी प्रदेश समितिद्वारा आयोजिते पाँच दलीय गठबन्धन प्रदेश स्तरीय कार्यकर्ता भेलाको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री शेरबादुर देउवा । तस्बिर ः राधिका कँडेल ÷रासस

गण्डकी, ४ कात्तिक (रासस)प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो ।

यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने बताउँदै उहाँले भन्नुभयो, “सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ । यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो ।”

प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता छ भन्नुभयो । गठबन्धनमा कुनै बहानामा शङ्का उपशङ्का गराउन नहुने बताउँदै उहाँले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिनुभयो ।

वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उहाँको भनाइ थियो । गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उहाँले यसलाई कायम राख्दा सबैको अवसर आउने बताउनुभयो ।

निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले नपायो त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उहाँले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गर्नुभयो ।

नेपालमा विसं २००७ देखिका विभिन्न परिवर्तन हुँदै गणतन्त्र, समावेशी लोकतन्त्र जस्ता उपलब्धि हासिल भएको बताउँदै प्रधानमन्त्री देउवाले यहाँको समावेशी लोकतन्त्र अन्य राष्ट्रका लागि पनि चासो र अध्ययनको विषय बनेको बताउनुभयो ।

गण्डकी प्रदेशमा भव्यताका साथ नवौँ राष्ट्रिय खेलकुद सम्पन्न भएको र यसले यहाँको सम्भावनालाई पनि थप उजागर गरेको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

कला, संस्कृतिलगायतका धेरै विविधता रहेको यस मुलुकको समृद्धि र विकास अबको आवश्यकता भएको बताउँदै उहाँले संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जीत अपरिहार्य भएकामा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचनका लागि मात्र अहिलेको गठबन्धन नबनेको बताउनुभयो ।

संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यले धेरै ठूलो मेहनतपछि बृहत्तर उद्देश्यका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सत्ता प्राप्ति र निर्वाचन जित्नका लागि मात्र गठबन्धन बनेको होइन । बृहत्तर उद्देश्यका साथ सङ्घर्षको मैदानमा जन्मिएको गठबन्धन हो, स्थिरता, विकास र समृद्धिबाहेक यसको अर्को उद्देश्य छैन ।”

उहाँले लामो सङ्घर्षपछि प्राप्त उलब्धिको रक्षाका लागि गठबन्धन अघि आएको बताउँदै सत्ताप्राप्तिका लागि मात्र हो कि भनेर सोच्न नहुने उल्लेख गर्नुभयो ।

जनताको जीवनस्तरमा परिवर्तन, संविधान रक्षाको सुनिश्चितता, निरङ्कुश प्रवृत्तिको अन्त्य र आर्थिक विकासको युग सुरु नहुँदासम्म गठबन्धन कायमै रहने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले गठबन्धनमा भएको सहमतिअनुसार उम्मेदवारलाई विजयी गराउने कार्यमा लाग्न सबै पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

आगामी निर्वाचनले देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्ने भन्दै दाहालले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनको अर्को मित्रलाई भोट नहाल्नु मित्रप्रतिको घात हुन्छ । गठबन्धनका दलले इमानदारीपूर्वक एकअर्काको चिन्हमा भोट हाल्नुहोला ।”

नेकपा९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गण्डकी प्रदेशका गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न आग्रह गर्नुभयो । उहाँले गठबन्धन दल किन बनायौं भनेर जनतामाझ जाँदा बुझाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “विपक्षीले फैलाएको भ्रम चिर्ने गरी जनतामा जानुहोस्, गठबन्धन दलका नेता इमानदारीपूर्वक चुनावमा लागेर गठबन्धनका दललाई जिताउनुहोस् ।”

अध्यक्ष नेपालले अहिलेको गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताउँदै यही गठबन्धन नै गणतन्त्रको रक्षा गर्ने मूल शक्ति भएको स्पष्ट पार्नुभयो ।

विपक्षी गठबन्धनलाई गणतन्त्र, सङ्घीयता र लोकतन्त्र नपचेको अध्यक्ष नेपालको जिकिर छ । जनतालाई न्याय दिन, समानता स्थापित गर्न र देशलाई विकासको बाटोमा लैजाने काम गठबन्धनको सरकारले गरेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पाँच दलीय गठबन्धनका कार्यदल संयोजक रामचन्द्र पौडेलले राष्ट्रिय आवश्यकताअनुसार दलगत सिद्धान्तबाट माथि उठेर साझा मुद्दामा गठबन्धन एक भएको बताउनुभयो ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि बनेको गठबन्धन संविधान र राष्ट्र विरोधी प्रतिगामी शक्तिका विरुद्धमा रहेको बताउँदै उहाँले त्यसलाई परास्त गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गठबन्धन सरकारमा जाने मात्र नभई राष्ट्रको समृद्धि र विकासका लागि भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचनमा दलबीचमा सिट सङ्ख्या भागबण्डा गर्दा स्वाभाविकरुपमा सबैले टिकट पाउने अवस्था नहुने कुरालाई आत्मसात् गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय कार्यकारी समितिका अध्यक्ष रश्मीराज नेपालीले विभिन्न विमतिका बाबजुद गठबन्धन अहिलेको आवश्यकता भएको बताउँदै संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारले जित्नु आवश्यक भएकामा जोड दिनुभयो ।

प्रतिगामी शक्तिले जित्दा अराजकतासँगै र विदेशी शक्तिको प्रभाव बढ्ने हुँदा गठबन्धनका उम्मेदवारले जित्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्राप्त उपलब्धिको रक्षासँगै विकासका लागि गठबन्धनको विजय आवश्यक भएको धारणा राख्नुभयो ।

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धन दलका प्रदेशस्तरीय कार्यकताको भेलाले गठबन्धनको चुनावी गतिविधिलाई थप बलियो बनाउन महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश अध्यक्ष केशवलाल श्रेष्ठले गठबन्धनका उम्मेदवार भएका स्थानमा परेका बागी उम्मेदवारीलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले गठबन्धनको यो अभियान निरंकुशतालाई सँधै पराजित गर्ने अभियानका रुपमा रहेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives