‘अब ठूलो पानी पर्दैन’

रासस
असाेज २७, २०७९
rain

काठमाडौँ, २७ असोज (रासस) :मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो ।

दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन्य घटना पनि बढे । यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ ।

क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मञ्जु बासीले अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको बताउनुभयो ।

उहाँका अनुसार देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने संभावना रहे पनि भारी वर्षा हुने देखिँदैन । उहाँले भन्नुभयो, “मौसम सुधारिँदै गएको छ । अब, मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन ।

केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।” राजधानी काठमाडौँलगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले देशका पहाडी भेगमा बदली तथा प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives