काठमाडौँ, २० भदौ (रासस) :पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ ।
कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले राससलाई जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यदलले आफ्नो काम भोलिसम्म टुङ्ग्याउँछ र प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ । सिट बाँडफाँटका सम्बन्धमा गठबन्धनमा आबद्ध दलहरुले आफ्नो अडानमा लचकता अपनाएकाले सङ्ख्या बारेको बहस साँघुरिँदै गएको छ ।”
दललाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई हेरी सबैलाई सम्मानजनक हुने गरी सिट बाँडफाँट वैज्ञानिक तरिकाले हुने सचिव जोशीले बताउनुभयो । कार्यदलको बैठक भोलि साँझ ६ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने जनाइएको छ ।
गठबन्धनमा आबद्ध दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा मादल बजाउने तालिम
स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष
भविष्य निर्माण माविको बस संचालनका लागि अक्षयकोषमा सहयोग जुट्दै
एन प्याव्सनको बाल प्रतिभा पहिचान महोत्सव सकियो
कम्प्युटर र नेतृत्व विकास तालिम
Archives
Archives