चोरीका चार मोटरसाइलसहित छ पक्राउ

रासस
श्रावण २२, २०७९
YRB-Bhojpur-MotercycleChori

मोटरसाइकल चोरीमा संलग्न सार्वजनिक । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइल चोरीमा संलग्न रहेका छ जनालाई आइतबार सार्वजनिक गरेको हो । यहाँबाट हराएका छवटा मोटरसाइलमध्ये चारवटा प्रहरीले फेला पारेको छ । केहि समय अघि भोजपुरमा मोटरसाइल चोरीका घटना बढेका थिए । चोरी भएका मोटरसाइकल सङ्खुवासभाबाट फेला पारेर ल्याएको प्रहरीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । तस्वीर ः युवराज विष्ट, रासस

भोजपुर, २२ साउन (रासस) जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ ।

यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ गरेको ठाउँबाट चोरी गरेर बाहिरका जिल्लामा लैजाने गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

प्रहरीले गत असार १० गते भोजपुरको पौवादुङमा गाउँपालिका श्यामशिलाका राजेन्द्र तामाङको चोरी भएको मोटरसाइलसहित खाँदबारी नगरपालिका–१० बस्ने २६ वर्षीय निराजन गौतम र २५ वर्षीय टीकाराम तिवारीलाई पक्राउ गरेको हो ।

त्यस्तै असार २३ गते अरुण गाउँपालिकाबाट हराएको फत्तसिं राईको मोटरसाइलसहित सङ्खुवासभाको पाँचखपन नगरपालिका–२ का २३ वर्षीय रविकिरण राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी जेठ ८ गते भोजपुरको देउरालीबाट स्थानीय बालम राईको चोरी भएको मोटरसाइकलसहित सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ बस्ने २५ वर्षीय मौसम तामाङ र सभापोखरी गाउँपालिका–३ का २८ वर्षीय उपेन्द्र तामाङ पक्राउ परेका हुन् ।

त्यस्तै भोजपुर बजारमा पार्किङ गरेको ठाउँबाट गिरेन्द्र खड्काको मोटरसाइल चोरी गर्ने खाँदबारी नगरपालिका–१ का ४० वर्षीय रोहितमान राईलाई प्रहरीले सार्वजनिक गरेको छ ।

उनीहरूले सङ्खुवासभाका दुर्गम ठाउँमा लगेर नम्बरप्लेट तथा पार्टपुर्जा परिवर्तन गरेर मोटरसाइकल चलाएको पाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

चोरीका मोटरसाइल रु २५ हजारदेखि रु ७० हजारसम्ममा बिक्री गरेको पाइएको उहाँको भनाइ छ । प्रहरीले मोटरसाइल किन्ने तथा पूर्जा परिवर्तनमा सहयोग गर्ने ग्यारेजवालालाई समेत नियन्त्रणमा लिएको छ ।

चोरीको योजना बनाउने मुख्य योजनकार बमबहादुर न्यौपानेलाई इटहरीबाट पक्राउ गरी भोजपुर ल्याउने तयारी भइरहेको प्रमुख राईको भनाइ छ । प्रमुख राईले भन्नुभयो, “केही समयदेखि यहाँ मोटरसाइल चोरीको आतङ्क नै बढेको थियो ।

प्रहरीले यसको सूक्ष्म ढङ्गले अनुुसन्धान गरेर पक्राउ गर्न सफल भएको छ । केहीलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुको बयानका आधार यसमा संलग्न अरुको पनि खोजी गर्छौँ ।”

पक्राउ परेकामध्ये कतिपय यसअघि पनि मोटरसाइल चोरीमा पक्राउ परिसकेका पनि प्रमुख राईको भनाइ छ । उनीहरूले रातको समय प्रहरीको आँखा छल्नका लागि चोरबाटो प्रयोग गरेको पाइएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । त्यस्तै प्रहरीले यो आर्थिक वर्षमा मुद्दामा १२ प्रतिशतले कमी ल्याएको जनाएको छ ।

प्रहरीले छ सय १४ रोपनीमा लगाएको तथा आफैँ उम्रेको लागुऔषध गाँजा नष्ट गरेको छ । विभिन्न मुद्दामा जिल्ला अदालतबाट कैद फैसला भएर फरार रहेका आठ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीले तीन ठाउँमा प्रहरी चौकी निर्माणका लागि प्रहरीको नाममा जग्गा पास गर्न सफल भएको जनाइएको छ । त्यस्तै जरिवानावापत रु १८ लाख राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives