ट्रकमा आगलागी

रासस
माघ १२, २०७८
fire

राजविराज, १२ माघ (रासस) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान पुनः एक ट्रकमा आगजनी भएको छ ।

कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना५ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन ।

उहाँले भन्नुभयो, “ट्रकचालक पनि सम्पर्कमा आएका छैनन् ।” अज्ञात समूहद्वारा आगजनी गरिएको हुनसक्ने उहाँले बताउनुभयो । ट्रक भने पूर्णरूपमा जलेको छ ।

यसैबीच आगो लागेको ट्रकलाई स्थानीय प्रहरी चौकीबाट गएको प्रहरी टोली र कञ्चनरुप नगरपालिकाबाट आएको बरुणयन्त्रले निभाएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

यसअघि एक महिना अगाडि पनि सोही गाउँपालिका वडा नं ५ महुली पुलमा एक ट्रक जलाइएको थियो ।

Related News

सम्बन्धित समाचार