प्रदेश नं २ का मुख्यमन्त्री  पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमसहित पोखरामा

राष्ट्र न्यूज सम्वाददाता
असाेज ६, २०७८
242481000_385126826503801_8631491133258126796_n

पोखरा, ६ भदौ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) प्रदेश नं २ र नाट्टा गण्डकी प्रदेशको संयोजन एवम् गण्डकी प्रदेश सरकारको निमन्त्रणामा प्रदेश नं २ का मुख्यमन्त्री लालवावु राउत नेतृत्वको टोली पर्यटन पुनरुत्थान र गन्तव्य प्रवद्र्धन कार्यक्रमका साथ आज पोखरा आइपुगेको छ ।

पोखरा–सिमरा सिधा उडान सुरु भएसँगै नाट्टा गण्डकी प्रदेश र नाट्टा प्रदेश नं २ को संयोजनमा यस अघि गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा सहितको टोलीले प्रदेश नं २ को सिमरा, बीरगञ्ज लगायतका स्थानमा अवलोकन भ्रमण, अन्तरक्रियाका साथै उक्त प्रदेशका मुख्यमन्त्री सहितको टोलीलाई पोखरा भ्रमणका लागि निमन्त्रणा दिएको थियो ।

पोखरा आउनुभएका मुख्यमन्त्री राउत सहितको टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारी लगायतले स्वागत गर्नुभयो ।

पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको भेटमा मुख्यमन्त्री राउतले कोरोनाले थलिएको पर्यटनलाई पुनरुत्थान गर्नु अहिलेको आवश्यकता भएको बताउँदै आन्तरिक पर्यटनका गतिविधिलाई चलायमान गराउन गण्डकी प्रदेशसँग सहकार्य गरिने बताउनुभयो । गण्डकी प्रदेशमा धार्मिक पर्यटनका धेरै सम्भावना रहेको बताउँदै उहाँले यसको उजागर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्य खुलेको सन्देश प्रवाहका लागि पनि मुख्यमन्त्री राउत सहितको उचस्तरीय भ्रमणलाई महत्वका साथ लिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो ।

कोरोना कहरकाबीच सजगताका साथ पर्यटनलाई उठाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै उहाँले आन्तरिक पर्यटनलाई टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री राउतले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटवार्ताका साथै पोखराका पर्यटकीय स्थलको स्थलगत अवलोकन एवम् सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गर्ने कार्यक्रम रहेको कार्यकम संयोजक नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिनुभयो

Related News

सम्बन्धित समाचार

Archives

Archives