विद्यालय सञ्चालनको तयारी

रासस
भाद्र ११, २०७८
school

राजविराज, ११ भदौ (रासस) । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो ।

विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिनुभयो ।

छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले पहिलो चरणमा छलफल ग¥यौँ, थप छलफल जारी नै छ, अझै निष्कर्षमा पुग्न सकिएको छैन, कोभिड–१९ महामारीका कारण महिनौँदेखि विद्यालय बन्द रहँदा पठनपाठन प्रभावित भएको छ ।

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ ।

लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ । विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरुको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ ।

साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ । त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुचि राख्नाले उनीहरुको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives