मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

रासस
असार ३, २०७८
Madhya pahadi lok marga

पर्वत, ३ असार (रासस) । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ ।

वर्षा नरोकिएका कारण पछिल्लो चार दिनदेखि अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बुुधवार साँझ एकतर्फी खोलिएको भए पनि वर्षा रोकिएपछि आज बिहानदेखि दुईतर्फी नै खुला भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिनुभयो । यद्यपि पहिरो पन्छाउने काम भने जारी रहेको छ ।

पर्वतमा गए रातिदेखि वर्षा रोकिएकोले सडक खुलाउन सकिएको उहाँले बताउनुभयो । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर सडक ठप्प भएको थियो ।

सडक सञ्चालन भएसँगै चार दिनदेखि अलपत्र बनेका मालवाहक ट्रक, तरकारी तथा फलफूल, औषधि तथा अक्सिजन बोकेका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

कमजोर भूभागका कारण सहस्रधारामा सामान्य वर्षा हुँदासमेत अवरुद्ध हुने गरेको छ । मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले भने वैकल्पिक सडक प्रयोग गरेका थिए । उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

सडक खण्डअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । बुधबार दिनभर खुलाउने प्रयास भए पनि सम्भव नभएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives