बाढीपहिरामा परी तीनको मृत्यु, ११ बेपत्ता

राष्ट्र न्यूज सम्वाददाता
असार २, २०७८
pahiro

काठमाडौँ, २ असार (रासस) । केही दिनदेखिको अविरल वर्षाका कारण बाढी पहिरामा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ ।

अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख दिलकुमार तामाङले बाजुरा, पाल्पा र सिन्धुपाल्चोकमा एक÷एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । सिन्धुपाल्चोकमा सात जना हराइरहेका छन् ।

गत वर्ष पनि सिन्धुपाल्चोकमा पहिराले ठूलो जनधनको क्षति भएको थियो । यस्तै सल्यान, बाजुरा, गोरखा, जाजरकोटमा पनि मानिस हराइरहेका उहाँले बताउनुभयो । अन्य विवरण सङ्कलन जारी रहेको केन्द्रले जनाएको छ ।

बाढी पहिरामा फसेकाको उद्धार, पीडितलाई राहत सामग्री वितरण तथा सुरक्षित बासस्थानमा व्यवस्था गर्न लागिएको तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रबाट बिहान सेनाको हेलिकप्टरमार्फत २६ जनाको उद्धार गरिएको छ ।

त्यस क्षेत्रका लागि एक ट्रक राहत सामग्री काठमाडौँबाट पठाइसकिएको तामाङले जानकारी दिनुभयो । अब मनाङका लागि हेलिकप्टरबाट राहत पठाउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

त्यहाँ बाढीका कारण जोखिममा रहेका ५०० जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

नेपालमा यही जेठ २८ गतेदेखि मनसुन प्रवेश गरेको थियो । त्यसयता लगातार पानी पर्दै आएको छ । यस वर्ष औषतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives