कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा

रासस
असार १, २०७८
LPS_Parbat-bajar

कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेको पर्वत, स्याङजा र गुल्मीको सङगमस्थलमा अवस्थित सेतीवेणीबजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा÷रासस

पर्वत, १ असार (रासस) । लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ ।

पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान चार बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् ।

दश घरपरिवार र उनीहरूको पसलमा रहेका सामान र मानिसलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो । बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका वासीन्दा आतङ्कीत बनेका छन् ।

नदीको बहाब उर्लिएर बजार क्षेत्रमै आइपुगेपछि व्यावसायी सुरक्षित स्थानमा सामान सार्न थालेका छन् । शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ ।

बजारवासीलाई संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबीयनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधार पनि पूर्णरूपमा क्षति पुगेको उनले बताउनुभयो । यता पानीको बहाब ह्वात्तै बढेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए ।

कालीगण्डकी र सेती खोला दुवैको बहाब उच्च हुँदा समस्या भएको हो । पानी नरोकिएकाले अझै जोखिम बढ्ने अवस्था छ । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ ।

सेतीवेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्गजातर्फको बजार क्षेत्रमा झण्डै २०० व्यापारी तथा सर्वसाधरण समस्यामा पर्ने गरेका छन् । विगत ११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए ।

विसं २०६६ असोज २१ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले उनीहरूमा सधैँभर त्रास थप्ने गरेको स्थानीय व्यावसायी विष्णु न्यौपानेले बताउनुभयो ।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives