नेपालमा १० जनामा कालो ढुसीको संक्रमण ,धनगढीमा एकको मृत्यु

रासस
जेठ २०, २०७८
health

काठमाडौँ, २० जेठ (रासस) । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् ।

नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो ।

उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् । यसअघि कालो ढुसीका बिरामी भारतमा फेला परेका थिए । कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ ।

यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए प्राणघातक हुनसक्ने उहाँले बताउनुभयो । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिङ्गान आउने, दाँत दुख्ने वा हल्लिनेजस्ता लक्षण देखापर्ने गर्दछन् ।

कोभिड–१९ जस्तै यो रोग नसर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिवायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसी लाग्ने गर्दछ ।

उता, कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) सङक्रमितको मृत्यु भएको छ ।

यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी)का कारण मृत्यु भएको हो ।

उहाँको आज बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

बच्ने उपाय

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेवल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्दछ ।

यस्तै पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी एन्टिवायोटिक औषधि सेवन नगर्ने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives