लकडाउन उल्लङ्घन गर्ने र दुग्घ उद्योगमा मदिरा बेच्नेलाई कारवाही

रासस
जेठ ४, २०७८
Nepal_Police

महेन्द्रनगर, ४ जेठ (रासस) । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ ।

गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

“लकडाउन उल्लङ्घन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारवाही गरिएको छ”, प्रवक्ता थापाले भन्नुभयो, “लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ ।”

उहाँले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारवाही गरिएको बताउनुभयो ।

“मार्टका दुई जनालाई सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले रु ६०० का दरले जरिवाना गर्नुभएको छ”, थापाले भन्नुभयो, “लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ ।”

उहाँले कोरोनाको दोस्रो लहर शुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको जानकारी दिनुभयो ।

कञ्चनपुर प्रहरी यहाँको गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा खटिँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives