हनुमान जन्मजयन्ती मनाइँदै

रासस
वैशाख १४, २०७८
Hanuman

काठमाडौँ, १४ वैशाख (रासस) । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा पूजा आराधना गरिन्छ ।

हनुमानढोका दरबारको नासलचोक नजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजा आराधना गर्ने चलन छ । हनुमान जयन्तीका अवसरमा गरिने शोभायात्रा भने यस वर्ष कोरोनाबाट बच्नका लागि साङ्केतिकरूपमा मात्र गरी विधि पूरा गर्न लागिएको छ ।

हनुमान आराधना मण्डल, मारवाडी सेवा समिति, अग्रवाल सेवा केन्द्रलगायतले हनुमान जयन्तीका अवसरमा दूरी कायम गरी पूजा आराधना गर्न लागेका छन् ।

सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरी पूजा आराधना गरिने जनाइएको छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ ।

हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाइदियो । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउनेवाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो ।

हनुमानलाई ‘मङ्गलमूरत’को रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’ को पाठ गर्ने परम्परा शुरु भयो । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ ।

शतरुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनुपूर्व नै अस्तित्वमा आइसकेका थिए । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानको बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ ।

स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठूलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्काे ठूलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् ।

हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान थियो । हनुमान पवनपुत्रको रूपमा चिनिनु हुन्छ किनभने पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउनुहुन्छ ।

हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ ।

हनुमानले भक्तियोग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिको लागि पनि पूजा गर्ने चलन छ ।

आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दुर लगाइएको हुन्छ ।

सिन्दुरले हड्डी एवं मांशलाई सुसङ्गठित शरीर निमार्णमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजा आराधना गर्नुका साथै शोभायात्रा निकालिन्छ ।

यस वर्ष पनि विगतमा जस्तै कोरोनाको जोखिम बढेकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर जात्रा मनाउन आह्वान गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलबार नै परेकाले पनि विशेष अवसर मानिएको छ । आज हनुमानको आराधना गर्नु अझ राम्रो हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

  • रुखले च्याप्दा एकको मृत्यु

    रासस माघ ७, २०७८
    देउखुरी, ७ माघ (रासस) । देउखुरीमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२ पचहिया निवासी…
  • अत्यावश्यक बाहेकका सेवा बन्द

    रासस माघ ७, २०७८
    काभ्रेपलाञ्चोक, ७ माघ (रासस) । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द…
  • नक्कली नोटसहित दुई पक्राउ

    रासस माघ ७, २०७८
    चितवन, ७ माघ (रासस) । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३…
  • भोलिदेखि मौसममा सुधार हुने

    रासस माघ ६, २०७८
    काठमाडौँ, ६ माघ (रासस) । पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात…
  • कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

    रासस माघ ५, २०७८
    गोरखा, ५ माघ (रासस) । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको…