हुम्लामा हिमपात, सर्वसाधारण अचम्भित

रासस
वैशाख ९, २०७८

सिमकोट, ९ वैशाख (रासस) ।उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् ।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ ।

आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताउनुभयो । बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ ।

विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।

नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताउनुभयो । विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताउनुभयो ।

मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ । किसान खुशी लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् ।

कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् । यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ ।

दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै