सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

रासस
चैत्र २४, २०७७
congress

काठमाडौँ, २४ चैत (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।

सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गर्नुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।

स्व प्रधानाङ्ग विसं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए ।

विसं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा उनी पक्राउ परी करिब एक वर्ष जेल जीवनसमेत व्यतित गरेको पार्टी कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गरेका स्व प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान रहेको छ ।

यसैगरी सभापति देउवाले सोमाबार नै कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) ताप्लेजुङका पूर्वसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गरेका छन् । उनको यही चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

विसं २०३६ मा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहेका स्व राईले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । विसं २००४ मा जन्मेका स्व राईका चार छोरा र दुई छोरी हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै