काँग्रेसले राष्ट्रिय दायित्व पूरा गर्नु पर्छ – वरिष्ठ नेता पौडेल

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ३, २०७७
Ramchandra poudel

पोखरा, ३ चैत । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले नै मुुलुकलाई नेतृत्व दिएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय दायित्व पूरा गर्न पार्टी नेतृत्व ढुलमुले अवस्थामा रहन हुँदैन उनले भने, मुलुकलाई दिशा निर्देश गर्ने गरी भूमिका खेल्नुपर्छ ।

वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाको उदाशीनता रहस्यमय भएको टिप्पणी समेत गरे ।

नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित तथा पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकार पुरस्कार पोखराका पत्रकार हिमनिधि लौडारीलाई अर्पण गर्न आयोजित कार्यक्रममा उनले मुलुकमा अधिनायकवादी प्रवृत्ति हावी भैरहेको भन्दै चिन्ता व्यक्त गरे ।

अहिलेको राजनीतिक अवस्थामा काँग्रेसको नेतृत्व अनिर्णय र ढुलमुले अवस्थामा रहन नहुने बताए ।

उनले भने, ‘अब काँग्रेसले माओवादी र जसपालाई साथमा लिई सरकारको नेतृत्व गरी समस्याको निकास दिनुपर्छ ।’

नेपालको राजनीति उल्टो दिशातर्फ गएको भन्दै उनले राष्ट्रिय–अन्तर्राष्ट्रियजगतबाट नेपाललाई खेलमैदानको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे । नेपालको राजनीति अरुको हातमा नभई नेपालकै दलको हातमा हुनुपर्ने उनको भनाइ छ ।

उनले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस अधिनायकवादसँग लड्नुपरेको उल्लेख गरे ।

उनले केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरी मुलुकलाई अधिनायकवादतर्फ धकेलेको बताए ।
वरिष्ठ नेता पौडेलले म्यानमारमा मानवताविरुद्ध भएको सैनिक दमन र त्यस्तो क्रियाकलापको सर्वत्र विरोध गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।

कार्यक्रममा काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, काँग्रेस कास्कीका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्णप्रसाद÷मायादेवी प्रतिष्ठानका अध्यक्ष भोला बराल, नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेल, सम्मानित व्यक्तित्व हिमनिधि लौडारीलगायतले बोलेका थिए ।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै