चैत २१ गतेदेखि आहा ! रारा गोल्ड कप

राष्ट्र न्यूज सम्वाददाता
फागुन २९, २०७७
image_6483441

पोखरा २९, फागुन । पोखरामा आउँदो चैत २१ गतेदेखि १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

 पोखरा रंगशालामा चैत २१ गतेदेखि चैत २८ गतेसम्म प्रतियोगिता हुने सहारा क्लवले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्लवले यसअघि चैत १७ गतेबाट प्रतियोगिता सुरु हुने पूर्व घोषणा गरे पनि यसपटक ८ टिम मात्र सहभागी हुने भएकोले चैत २१ गतेबाट प्रतियोगिता हुने भएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए ।

प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टिमको सहभागिता रहने छ ।

त्यसैगरी प्रतियोगितामा नेपाल आयल निगम मनाङ मस्याङदी क्लब, विभागीय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको ए.पि.एफ.क्लव, रुस्लान थ्रि—स्टार क्लव, संकटा क्लव र मछिन्द्र क्लब सहभागी हुने छन् ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ आयोजना हुने प्रतियोगिताको बिजेता टोलीले उपाधि सहित १० लाख १ हजार साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ । उपबिजेता हुने टोलीले ट्रफीको साथमा ५ लाख १ हजार रुपैया साथमा मेडल प्रमाण पत्र प्राप्त गर्ने भएको छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएकोे छ ।

प्रतियोगिताबाट १ करोड २९ लाख १ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको महासचिब रामजीप्रसाद अधिकारीले बताए । ७ दिन संचालन हुने उक्त प्रतियोगिता सम्पन्न गर्न भने १ करोड १ लाख ८१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा सहारा यु.के.बाट प्राप्त आकर्षक ट्रफी हस्तान्तरण गरिएको छ ।

कार्यक्रम क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको थियो ।

क्लवले यसवर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७ बाट एक जनालाई सम्मान गर्ने भएको छ । क्लवका मानार्थ सदस्य खेमबहादुर गुरुङले पुरस्कारका लागि ३५ हजार रुपैयाँ उपलब्ध गराउने छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives