काठमाडौँ, २६ फागुन (रासस) । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ ।
महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो । सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले जानकारी दिइन् ।
साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उनले बताइन् । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ । भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ ।
सफाइमा नेपाली सेनाको काली दल गण, सशस्त्र प्रहरी बल, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, तिलगङ्गा महिला समूह, कोषका कर्मचारीलगायत विभिन्न सङ्घ संस्थाको सक्रियतामा सफाइ गरिएको उपसमितिका सचिव भावना पराजुलीले बताइन् ।
सो अवसरमा पशुपति क्षेत्रमा फोहर नगरौँ, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थललाई स्वच्छ राखौँ भनी जनचेतनामूलक अभियान पनि चलाइएको थियो । सफाइमा काली दल गणका प्रमुख सेनानी दिनेश बानियाँ नेतृत्वको समूह, कोषका निर्देशक भोलाप्रसाद सिटौलालगायत अधिकारीको पनि सक्रियता थियो । यसअघि गत शनिबार वाग्मती सफाइ महाअभियानले पनि महाशिवरात्रिका अवसरमा सूर्यघाटबाट आर्यघाटसम्मको नदी किनारमा सफाइ गरेको थियो ।
महाअभियानले आगामी फागुन २९ गते शनिबार पनि ४०९औँ हप्ताको वाग्मती सफाइ पशुपति क्षेत्रमै गर्ने उद्घोष गरेको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले सुनाए ।
Related News
सम्बन्धित समाचार
ठकुरी बस्तीमा निःशुल्क आँखा शिविर
साईबर अपराध सम्वन्धी सचेतनामूलक कार्यक्रम
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
Archives
Archives